Rashtriya Dainik

नेपाली काँग्रेस नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधन

काठमाडौं । नेपाली काँग्रेस नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । शुक्रबार साँझ नर्भिक अस्पतालमा उपचारका क्रममा जोशीको निधन भएको हो । 

उपचारमा संलग्न चिकित्सक राजीव झाले शुक्रबार ८ः ३० बजे जोशीको निधन भएको जानकारी दिए ।  फागुन १४ गते जोशीलाई मष्तिष्कघात भएको थियो ।

सोही दिन राति जोशीलाई वीर अस्पताल भर्ना गरिए पनि राति नै नर्भिक अस्पताल रिफर गरिएको थियो । नर्भिकले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो । उपचारकै क्रममा आज अस्पतालमै निधन भएको हो ।

को हुन् स्वर्गीय जोशी ?

जोशी काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीति सुरु गरेका थिए । उनी नेविसंघ काठमाडौं जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य, सह महामन्त्री र महामन्त्री बनेका थिए । जोशी २०४८ सालको बुटवल अधिवेशनमा अध्यक्ष पराजित भएसँगै विद्यार्थी राजनीतिबाट पार्टीको राजनीति प्रवेश गरेका थिए ।

नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको छत्र छायाँमा राजनीति गरेका जोशी २०४९ सालमा काठमाडौं महानगरको उपमेयर भएका थिए ।

पछि २०५६ सालमा युवा स्वरोजगारका कार्यकारी उपाध्यक्ष (राज्यमन्त्री सरह) भएका थिए । जोशीले त्यसै बखतमा युवा स्वरोजगारका क्षेत्रमा थुप्रै नीतिगत काम गरेका थिए ।

जोशीले २०५२ सालमा गणेशमान सिंहको जीवनीमा अध्ययन र अनुसन्धान गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठान खोले र गणेशमान सिंहको जीवनीमा आधारित वीर गणेशमान चलचित्र समेत निर्माण गरेका थिए ।

जोशीले २०६४, ७० को संविधानसभा निर्वाचनमा  काठमाडौं क्षेत्र नम्बर ८ बाट विजयी भएका थिए । उनी पहिलो संविधानसभामा नेपाली काँग्रेस प्रवक्ता र सीमा अध्ययन समितिको संयोजक बनेका थिए ।

दोस्रो संविधानसभामा संविधान जारी भएपछि उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारमा उद्योग मन्त्री भएका थिए ।

अबको यात्रा आर्थिक समृद्धि भन्दै जोशीको अथक पहलमा २५ वर्षपछि अन्तर्राष्ट्रिय लगानी सम्मेलन नेपालमा आयोजना भएको थियो ।  मन्त्री हुँदा जोशीले बन्द उद्योग खोलाउने ,उद्यमशीलता युवा , उद्योगको विकास लगायत थुप्रै राम्रो काम गरेका थिए । 

उद्योग मन्त्री हुँदा जोशीले रुग्ण र बन्द अवस्थामा रहेका आठ वटा उद्योगलाई सञ्चालन गर्ने योजना अगाडि बढाएका थिए । उनका पालामा थुप्रै औद्योगिक अवरोधहरू हटाइ कानुनी सुधार पनि गरिएको थियो। 

दुईपटक पार्टी केन्द्रीय सदस्य बनेका जोशी हाल पनि केन्द्रीय सदस्य थिए । मिजासिला ,बौद्धिक र क्षमतावान् नेता जोशी निष्ठावान् राजनीतिज्ञका रुपमा परिचित थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित