राजन कुमार बानिया /पर्सा ,२३ असार
प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर शाक्यले हिजो प्रतिनिधिसभाको बैठकमा ठोरीको पर्यटन, व्यापार तथा स्थानीय जनजीवनमा परेको प्रतिकूल प्रभावबारे सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल आवश्यक पहल गर्न आग्रह गर्नुभएको थियो । त्यसको भोलिपल्टै आज वीरगञ्ज भन्सार कार्यालयबाट कर्मचारी खटाई भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनलाई निःशुल्क सुविधा पास उपलब्ध गराई ठोरी प्रवेश गराइएको छ ।
माननीय सांसद शाक्यले संसदमा विषय उठाएसँगै ठोरीका पर्यटन व्यवसायीहरूको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको थियो । साथै, ठोरी गाउँपालिकाले पनि वीरगञ्ज भन्सार कार्यालयमा यस विषयमा आवश्यक पहल गरिदिन अनुरोध गर्दै पत्राचार गरेको थियो । तर प्रमुख जिल्ला अधिकारी, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख तथा सशस्त्र प्रहरी बलका एसपीले कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले काम त हुने, तर कहिलेदेखि कार्यान्वयन हुन्छ भन्नेबारे तत्काल भन्न नसकिने बताएका थिए । साथै, यस विषयमा माननीय सांसदमार्फत आवश्यक पहल गराउन पनि अनुरोध गरेका थिए । सोहीअनुसार प्रतिनिधिसभामा विषय उठेलगत्तै वीरगञ्ज भन्सार कार्यालयले तत्काल आवश्यक प्रक्रिया पूरा गरी आजैदेखि सेवा सञ्चालन सुरु गरेको हो ।
सोहीअनुसार आजै बीआर २२ पीए ०३९२ नम्बरको भारतीय चारपांग्रे सवारीसाधनले पहिलो पटक निःशुल्क सुविधा पास लिएर ठोरी बजार प्रवेश गरेको छ । यससँगै भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको आवागमन औपचारिक रूपमा भएकोले ठोरीको पर्यटन गतिविधि पुनः चलायमान हुने अपेक्षा गरिएको छ ।
भारतीय पर्यटकको आगमन सहज हुने भएपछि स्थानीय पर्यटन व्यवसायीहरूले सन्तोष व्यक्त गरेका छन् । जनताको समस्यालाई प्रतिनिधिसभामा तत्काल उठान गरी समाधानका लागि प्रभावकारी पहल गरेको भन्दै स्थानीयवासीले प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर शाक्यको कार्यप्रति खुसी व्यक्त गरेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

