राजन कुमार बानिया /पर्सा ,२५ असार
पर्साको कालिकामाई गाउँपालिकामा कार्यालयभित्रै कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि भएको कुटपिट घटनाको विरोधमा कर्मचारीहरूले तेस्रो दिन पनि पेनडाउन आन्दोलनलाई निरन्तरता दिएका छन्। दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै सुरु गरिएको आन्दोलनका कारण गाउँपालिकाको प्रशासनिक सेवा, शिक्षा र स्वास्थ्य सेवा प्रभावित बनेका छन्।
कर्मचारीहरूका अनुसार गत मंगलबार कार्यालय समयमै गाउँ कार्यपालिकाको कार्यालयभित्र चौरसियामाथि कुटपिट तथा दुर्व्यवहार भएको थियो। त्यसयता गाउँपालिकाको सम्पूर्ण प्रशासनिक कामकाज ठप्प पारिएको छ भने विद्यालय र स्वास्थ्य चौकीको नियमित सेवा पनि प्रभावित भएको छ।
घटनाको तीन दिन बितिसक्दा पनि आफूहरूले दिएको किटानी जाहेरी दर्ता नभएको र मुख्य आरोपितहरू पक्राउ नपरेको भन्दै आन्दोलनरत कर्मचारीहरूले बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्ना दिएका छन्।
कर्मचारीहरूले कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष सञ्जय कुमार पटेल, गाउँपालिका–२ निवासी आफूलाई जेनजी अभियन्ता बताउने राजनिश कुशवाहा तथा हिरालाल राउत कुर्मीविरुद्ध आपराधिक उपद्रव मुद्दामा किटानी जाहेरी दर्ता गर्न माग गरेका छन्। उनीहरूको दाबीअनुसार घटनाको सीसीटीभी फुटेजमा कुटपिटको दृश्य स्पष्ट देखिए पनि प्रहरीले निष्पक्ष अनुसन्धान नगरेको छ।
आन्दोलनरत कर्मचारीहरूले सरकारी कार्यालयभित्र कार्यरत कर्मचारीमाथि भएको आक्रमण सम्पूर्ण कर्मचारी समुदायमाथिको आक्रमण भएको उल्लेख गर्दै दोषीलाई संघीय कानुनअनुसार कडा कारबाही, कर्मचारीको सुरक्षा सुनिश्चितता तथा घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले घटनाले कर्मचारीहरूको मनोबल कमजोर बनाएको, प्रशासनिक कामकाज प्रभावित भएको र सुशासनमा समेत नकारात्मक असर परेको बताए।
त्यस्तै गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले कर्मचारीमाथि कार्यालयभित्रै भएको कुटपिटको घटना निन्दनीय भएको उल्लेख गर्दै घटनामा संलग्न जो–कोही भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने धारणा व्यक्त गरे।
यता जिल्ला प्रहरी कार्यालय पर्साले घटनामा संलग्न रहेको आरोपमा कालिकामाई गाउँपालिका–२ निवासी रामबालक साह कानु र अरविन्द चौरसियालाई नियन्त्रणमा लिएर अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको जनाएको छ। अन्य संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
दोषीमाथि कानुनी कारबाही नभएसम्म आन्दोलन नरोकिने चेतावनी कर्मचारीहरूले दिएका छन्। आन्दोलन जारी रहँदा गाउँपालिकाको दैनिक सेवा प्रवाह थप प्रभावित हुने देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

