Rashtriya Dainik

सरावलका प्रविधिक प्रमुख हेमन्तमाथि चौतर्फी गुनासो, डिजाइनदेखि मूल्याङ्कनसम्म उठे प्रश्न

राष्ट्रिय दैनिक / नवलपरासी ,२५ असार

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकाका प्रविधिक शाखा प्रमुख तथा सब-इन्जिनियर हेमन्त चौधरीकाे कार्यशैलीप्रति विभिन्न पक्षबाट गुनासा र असन्तुष्टि बढ्दै गएको छ।

जनप्रतिनिधि, स्थानीय, निर्माण व्यवसायी तथा केही उपभोक्ता समिति सदस्यहरूले विकास निर्माणका काममा डिजाइन, गुणस्तर र मूल्याङ्कन प्रक्रियालाई लिएर प्रश्न उठाएका छन्।

सबैभन्दा बढी चर्चा दुबौलिया–धनगडवा जोड्ने पुलको डिजाइनलाई लिएर भइरहेको छ। स्थानीय जनप्रतिनिधि तथा बासिन्दाहरूका अनुसार पुल आवश्यकताभन्दा धेरै उचाइमा डिजाइन गरिएकाले निर्माण लागत अनावश्यक रूपमा बढेको छ।

सरावल गाउँपालिका वडा नम्बर ५ वडाअध्यक्ष लक्षुमण चौधरीले पुलको अत्यधिक उचाइका कारण सरकारी लगानी बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। वडा सदस्य किसुन कहाँरले निर्माण कार्यको गुणस्तरमा समेत प्रश्न उठाएका छन्।

त्यस्तै गाउँपालिकाको मुख्य प्रवेशद्वार (गेट) निर्माणमा पनि डिजाइन त्रुटि भएको भन्दै गुनासो आएको छ। स्थानीयका अनुसार गेट अपेक्षाभन्दा होचो बनेको छ, जसका कारण यसको सौन्दर्य र उपयोगितामाथि प्रश्न उठेको छ।

निर्माण व्यवसायीहरूले पनि काम सम्पन्न भएपछि गरिने मूल्याङ्कन प्रक्रियामा आफूहरू असन्तुष्ट रहेको बताएका छन्। केही व्यवसायीको दाबीअनुसार वास्तविक कामको तुलनामा मूल्याङ्कन कम गरिने हुँदा आर्थिक रूपमा नोक्सानी व्यहोर्नुपरेको छ।

नाम नखुलाउने सर्तमा एक उपभोक्ता समिति सदस्यले पनि मूल्याङ्कन प्रक्रियामा पारदर्शितामाथि प्रश्न उठाएका छन।

एक निर्माण व्यवसायीले भने, “अनावश्यक झन्झट र कर्मचारीबाट दुःख पाइएपछि मैले सरावल गाउँपालिकामा काम गर्नै छोडें,” भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरे।

त्यस्तै बर्दघाटे कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादवले मन्दिर परिसरमा भएको ब्लक बिछ्याउने कार्यको प्राविधिक स्टिमेटप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले सब-इन्जिनियर हेमन्त चौधरी र सब-इन्जिनियर (पाँचौं) डोल्मा लामाको कार्यशैलीमाथि प्रश्न उठाउँदै आफू निकट वा ‘सेटिङ’ मिलेकाहरूलाई बढी तथा नमिल्ने पक्षलाई कम मूल्याङ्कन गर्ने गरेको आरोप लगाएका छन्।

उपभोक्ता समिति तथा निर्माण ब्यवसायीहरुले अनुगमन कार्य समयमा नहुने र भएपनि फर्छाैट प्रक्रियामा झन्झट हुने गरेको प्रतिक्रिया दिइएका छन ।

यस विषयमा उठेका गुनासा र आरोपबारे सब-इन्जिनियर हेमन्त चौधरीले पुल डिजाइनमा सहकर्मी साथीहरूबाट गल्ती भएको स्विकार गरे । तर योजना, डिजाइन, गुणस्तर परीक्षण तथा मूल्याङ्कन प्रक्रियालाई निष्पक्ष, पारदर्शी अनुसार काम गरिरहेकाे दाबी गरेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित