विनोद निगम/ नवलपरासी,२४ असार
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय महेशपुरले मङ्गलबार सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि भन्ने मूल नारासहित नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
इलाका प्रहरी कार्यालय महेशपुरका प्रमुख प्रहरी निरीक्षक सुबराज बमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाल्हीनन्दन गाउँपालिका-१ का वडा प्रतिनिधि प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी, सञ्चारकर्मी लक्ष्मी प्रसाद हरिजन,जितेन्द्र गुप्ता,समाजसेवी, युवा तथा सर्वसाधारण नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो।
नागरिक सुनुवाइ कार्यक्रममा स्थानीय बासिन्दाले गाउँ-समाजको शान्ति सुरक्षा,लागूऔषधको बढ्दो दुरुपयोग, सीमा क्षेत्रको सुरक्षा अवस्था,चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण,सामाजिक विकृति–विसंगति न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा प्रहरी सेवालाई थप प्रभावकारी बनाउने विषयमा आफ्ना सुझाव, गुनासा र जिज्ञासा राखेका थिए। सहभागीहरूले समुदायको सक्रिय सहयोगबिना अपराध नियन्त्रण र सुरक्षित समाज निर्माण सम्भव नहुने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी निरीक्षक सुबराज बमले नेपाल प्रहरीले समुदायसँगको साझेदारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले अपराध नियन्त्रण, लागूऔषध न्यूनीकरण तथा सामाजिक सद्भाव कायम गर्न प्रहरीको एकल प्रयास पर्याप्त नहुने उल्लेख गर्दै स्थानीय नागरिक, जनप्रतिनिधि, सञ्चारमाध्यम र सरोकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो।
उहाँले नागरिकबाट प्राप्त सुझाव र गुनासालाई गम्भीरतापूर्वक ग्रहण गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। साथै, कुनै पनि शंकास्पद गतिविधि वा आपराधिक घटनाबारे तत्काल प्रहरीलाई सूचना उपलब्ध गराउन उहाँले स्थानीयवासीलाई आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले यस्ता नागरिक सुनुवाइ कार्यक्रमले प्रहरी र समुदायबीचको दूरी घटाउने,आपसी विश्वास अभिवृद्धि गर्ने तथा स्थानीय समस्याको समाधान खोज्न साझा मञ्चका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखेका थिए।
कार्यक्रमको समापनमा सुरक्षित,शान्तिपूर्ण,सभ्य र अपराधमुक्त समाज निर्माणका लागि प्रहरी र समुदायबीचको समन्वय, विश्वास तथा सहकार्यलाई अझ सुदृढ बनाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सबै सहभागीले जोड दिएका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

