Rashtriya Dainik

सुस्ता जोड्ने झोलुङ्गे पुलमै जोखिम, जाली फाटे, नटबोल्ट खुकुलो, सम्बन्धित निकाय बेखबर !

राष्ट्रिय दैनिक / नवलपरासी ,११ मंसिर

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीमाथि निर्माण गरिएको नेपालकै लामो झोलुङ्गे पुल जीर्ण बन्न थालेको छ। सुस्तावासीको वर्षौंदेखिको आवागमन सहज बनाएको पुलको सुरक्षात्मक संरचनामै समस्या देखिन थालेपछि स्थानीयवासी चिन्तित बनेका छन्।

पुलको सुरक्षाका लागि दुवैतर्फ लगाइएका जाली ठाउँठाउँमा फाटेका छन् भने जडान गरिएका नटबोल्टसमेत खुकुलो भएका छन्। दैनिक सयौँ मानिसको आवतजावत हुने तथा पर्यटकको समेत आकर्षण बनेको पुलमा यस्तो समस्या देखिएपछि सम्भावित दुर्घटनाको जोखिम बढेको छ।

करिब २० करोड ९३ लाख रुपैयाँ लागतमा निर्माण गरिएको १ हजार ५७१ मिटर लामो उक्त पुल २०७२ सालदेखि निर्माण सुरु भई लामो समयपछि सञ्चालनमा आएको हो। २०८१ साल असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेलले पुलको उद्घाटन गरेका थिए।

करिब तीन सय घरधुरी र तीन हजारभन्दा बढी जनसंख्या रहेको सुस्ताका बासिन्दाका लागि यो पुल जीवनरेखाकै रूपमा रहेको छ। पुल निर्माण हुनुअघि स्थानीयले नारायणी नदी डुङ्गाबाट पार गर्नुपर्ने वा भारतीय भूमि हुँदै घुमेर आवतजावत गर्नुपर्ने बाध्यता थियो।

पुल सञ्चालनमा आएपछि स्थानीयलाई शिक्षा, स्वास्थ्य, व्यापार तथा दैनिक कामकाजका लागि आफ्नै देशको भूमिबाट सहज आवतजावत गर्न ठूलो राहत मिलेको छ। पुल पर्यटकीय आकर्षणसमेत बनेपछि नेपालका विभिन्न जिल्ला तथा भारतको उत्तर प्रदेश र बिहारबाट समेत मानिसहरू घुम्न र तस्बिर खिच्न आउने गरेका छन्।

तर, सुस्ताको पहिचान र स्थानीयको जीवनरेखा बनेको यही पुलको सुरक्षात्मक संरचना छोटो अवधिमै बिग्रन थालेपछि यसको गुणस्तर, नियमित अनुगमन र मर्मतसम्भारको विषय गम्भीर बनेको छ।

करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको राष्ट्रिय गौरवको पूर्वाधारजस्तै महत्त्व बोकेको पुलमा जाली फाट्ने र नटबोल्ट खुकुलो हुने अवस्था आउँदा पनि सम्बन्धित निकायको ध्यान कहिले जाने?

स्थानीयवासीको सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित प्राविधिक निकायबाट तत्काल स्थलगत निरीक्षण, जोखिम मूल्याङ्कन र आवश्यक मर्मतसम्भार गर्नुपर्ने देखिन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित