रसुवा ,११ मंसिर ।
भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण तथा भरणपोषणका लागि सरकारले दीर्घकालीन सहायता कार्यक्रम सुरु गरेको छ।
योजनाअन्तर्गत बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी महिला र उनकी नवजात छोरीलाई सरकारले मासिक १७ हजार ५०० रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले बिहीबार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसी पुगेर पीडित महिलाको बैंक खातामा पहिलो महिनाको रकम जम्मा गर्दै कार्यक्रमको सुरुवात गरेकी हुन्।
सरकारी योजनाअनुसार ती बालिकाले १८ वर्ष पूरा नगरेसम्म आमासँगै परिवारमा रहेर मासिक १७ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछिन्।
बाढीमा आमाबुवा गुमाएका, अभिभावक बेपत्ता भएका तथा विशेष संरक्षण आवश्यक पर्ने बालबालिकालाई समेत सरकारले दीर्घकालीन संरक्षण र भरणपोषणको व्यवस्था गर्ने जनाएको छ।
मन्त्री वादीका अनुसार विभिन्न साझेदार संस्थामार्फत हालसम्म ८१० जना बालबालिकाको दीर्घकालीन स्याहारका लागि सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
यसका लागि नेपाल सरकार र एमआइटिजीएफबीच ५८ करोड रुपैयाँ बराबरको सम्झौता भएको छ।
सरकारले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास र मनोसामाजिक अवस्थालाई समेत प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

