राष्ट्रिय दैनिक / नवलपरासी , १० मंसिर ।
विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ।
पालिका स्तरीय राष्ट्रपति खेलकुद निर्देशन समितिको बैठकले आगामी मंसिर २५ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो। यस वर्षको प्रतियोगिता सरावल गाउँपालिका–१ स्थित बसन्त माध्यमिक विद्यालय, बासामा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष एवं निर्देशन समितिका संयोजक सुखाडीप्रसाद चौधरीले जानकारी दिनुभयो।

अध्यक्ष चौधरीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगितालाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धात्मक रूपमा सम्पन्न गर्ने विषयमा छलफल गर्दै आवश्यक तयारी अघि बढाउने निर्णय गरेको छ।
प्रतियोगिता सफल बनाउन बैठकले विभिन्न उपसमितिसमेत गठन गरेको छ। गठित उपसमितिहरूलाई आ–आफ्नो जिम्मेवारीअनुसार तयारीका कामलाई तीव्रता दिन तथा आपसी समन्वयमा काम गर्न निर्देशन दिइएको छ।

विद्यालयमा लुकेर रहेका खेल प्रतिभाको पहिचान र उजागर गर्दै विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्याउने विश्वास गरिएको प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकास र खेलाडी उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

