काठमाडौं ,१० मंसिर
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभरका मतदान स्थलको पुनरावलोकन प्रक्रिया अघि बढाएको छ। मतदान स्थललाई थप व्यवस्थित, सहज र मतदातामैत्री बनाउने उद्देश्यले आयोगले सबै स्थानीय तहसँग आवश्यक समन्वय र सहजीकरणका लागि आग्रह गरेको हो।
यसैक्रममा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार देशभरका स्थानीय तहलाई परिपत्र गर्दै मतदान स्थल पुनरावलोकनका लागि आवश्यक विवरण तथा सहयोग उपलब्ध गराउन निर्देशन दिएको छ।
निर्वाचन आयोगअन्तर्गतको मतदान स्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समितिको बैठकले पुनरावलोकनको निर्णय गरेको हो। निर्वाचन आयुक्त सगुन शमशेर जबराको संयोजकत्वमा रहेको समितिमा गृह मन्त्रालय र सम्बन्धित मन्त्रालयका सचिव सदस्य छन्।
मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१ तथा कार्यक्रम कार्यान्वयन योजना, २०८३ अनुसार जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिमार्फत पुनरावलोकनको काम अघि बढाइने आयोगले जनाएको छ।
यसका लागि आयोगले मंसिर ७ गते नै गृह मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयलाई पत्राचार गरी आवश्यक समन्वय गर्न आग्रह गरेको थियो। सोही पत्रका आधारमा मन्त्रालयले जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसम्म प्रक्रिया अघि बढाएको हो।
पुनरावलोकनबाट मतदान स्थलको वर्तमान अवस्था, मतदातालाई पुग्नुपर्ने सहजता तथा मतदान व्यवस्थापनका पक्षमा आवश्यक सुधार पहिचान हुने अपेक्षा गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

