Rashtriya Dainik

सियारीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

तुलसीराम पौडेल /रुपन्देही , मंसिर १०

‘लैङ्गिक हिंसा अन्त्यका लागि एक्यबद्धता, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नारालाई आत्मसात गर्दै रुपन्देहीको सियारी गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान कार्यक्रम बुधबारदेखि सुरु भएको छ।

सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले कार्यक्रमको उद्घाटन गर्दै लैङ्गिक हिंसा अन्त्य गर्न केवल कानुन बनाएर मात्र नहुने बताउनुभयो। उहाँले भन्नुभयो, “समाजमा हिंसाको जड भनेको अज्ञानता र असमानता हो। त्यसैले सम्पूर्ण नागरिकलाई शिक्षित बनाउनु, कानुनी रूपमा प्रशिक्षित बनाउनु आजको आवश्यकता हो। घरदेखि विद्यालयसम्म, वडादेखि पालिकासम्म सबै तहबाट हिंसाविरुद्धको आवाज उठाउनुपर्छ। पीडितलाई न्याय दिलाउनु हाम्रो पहिलो दायित्व हो।”

त्यस्तै, गाउँपालिका उपाध्यक्ष तारा थारुले महिला हिंसा महिलाबाटै हुने अवस्था रहेको बताउँदै सम्पूर्ण पक्ष जागरुक हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “कतिपय अवस्थामा महिला आफैले अर्की महिलामाथि हुने हिंसालाई सामान्य रूपमा लिने वा समर्थन गर्ने गरेको देखिन्छ। यो सोच बदल्नु जरुरी छ। महिला सशक्तीकरणको अर्थ अर्की महिलालाई दबाउनु होइन, सँगै अगाडि बढ्नु हो। सबै महिला दिदीबहिनी एक भएर हिंसाका विरुद्ध उभिनुपर्छ।”

कार्यक्रममा इलाका प्रहरी कार्यालय बनघुसरीका प्रमुख एवं प्रहरी निरीक्षक अनिश बुढाथोकी र SOS बालग्राम भैरहवाका प्रोग्राम अफिसर विनय श्रेष्ठले लैङ्गिक हिंसा एवं ठगी धन्दा निराकरणबारे प्रशिक्षण दिनुभएको थियो।

सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुको अध्यक्षता, गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता, कार्यपालिका सदस्य अन्जु रोकाहाको स्वागत मन्तव्य र महिला, बालबालिका शाखाकी प्रमुख अनुसुया ढकाल तिवारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका सूर्यनारायण यादव, नेकपा एमालेका कृष्णप्रसाद नेपाल, नेकपाका चन्द्रकान्त शर्मा र विरेन्द्र माविका प्रधानाध्यापक कमला भण्डारीलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित