काठमाडौं, कात्तिक २५ । प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन्।
यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीकाको अवसरमा प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले जारी गरेको शुभकामना सन्देशमा पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवासमा पुगेको प्रसङ्ग उल्लेख गरेका छन्। उक्त अवसरमा यमुनाले आफ्ना दाजु यमराजलाई विधिपूर्वक टीका तथा पूजा गरी आदरसत्कार गरेको धार्मिक मान्यता रहेको उनले बताएका छन्।
बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न भएका यमराजले यस दिन बहिनीबाट टीका तथा पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको विश्वास रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
सोही धार्मिक तथा सांस्कृतिक विश्वासका आधारमा भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै विधिपूर्वक पूजा गर्ने परम्परा रहेको प्रधानमन्त्री शाहले बताएका छन्।
भाइटीकाका दिन दाजुभाइलाई दुबो, मखमली तथा सयपत्रीका माला लगाइदिने, ओखर फुटाउने, तेलको धाराले छेक्ने, सप्तरङ्गी टीका लगाइदिने तथा विभिन्न मिठा परिकार खुवाउने चलन रहेको छ। त्यसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिएर सम्मान प्रकट गर्ने परम्परा रहेको छ।
भाइटीका नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्व हो। यसले पारिवारिक सम्बन्धलाई मजबुत बनाउनुका साथै आपसी सद्भाव, प्रेम, विश्वास र आत्मीयताको सन्देश प्रवाह गर्दै आएको छ।
– राससको सहयोगमा
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

