राष्ट्रिय दैनिक / २५ कार्तिक
यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज देशभर दिदीबहिनी र दाजुभाइबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति तथा समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने परम्परा रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीका लगाउनका लागि उत्तम साइत बिहान ११ः०७ बजे रहेको छ। यद्यपि, साइतपछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ।
समितिका अनुसार यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व फर्कने र टीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्नेछ।
भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर विधिपूर्वक टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीका फूलका माला पहिर्याउने चलन छ। टीका तथा माला लगाएपछि दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटी लगायतका परम्परागत परिकार खुवाउने गरिन्छ।
त्यसैगरी, दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर सम्मान र माया प्रकट गर्ने परम्परा रहेको छ।
भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै पारिवारिक एकता, आपसी सद्भाव र सामाजिक सम्बन्धलाई मजबुत बनाउने विश्वास गरिन्छ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस पर्वलाई नेपाली समाजमा विशेष महत्त्वका साथ मनाउने गरिन्छ। नेपालसहित विश्वका विभिन्न मुलुकमा रहेका नेपालीले समेत आ–आफ्नो अनुकूलताअनुसार भाइटीका मनाउँदै आएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

