Rashtriya Dainik

सयपत्री फूल खेतीबाट लोभलाग्दो सफलता, बजारमा स्वदेशी फूलको माग उच्च

पुरुषोत्तम सुवेदी/ नवलपरासी, कात्तिक २४ गते ।

चाडपर्वका बेला बजारमा बढ्दो फूलको मागलाई लक्षित गर्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११, मिश्रौलीमा सुरु गरिएको व्यावसायिक सयपत्री फूल खेतीले पहिलो वर्षमै लोभलाग्दो सफलता हासिल गरेको छ। स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले सुरु गरिएको फूल खेतीले राम्रो बजार पाउनुका साथै स्थानीयस्तरमै रोजगारी र आयआर्जनको अवसरसमेत सिर्जना गरेको छ।

नेपाल सरकारका वरिष्ठ डिभिजन इन्जिनियर तथा लुम्बिनी प्रदेश सरकारको सिँचाइ महाशाखा प्रमुखबाट अवकाशप्राप्त उपसचिव ध्रुव पौडेल र होटल व्यवसायी नारायण न्यौपानेको संयुक्त लगानीमा फूल खेती सुरु गरिएको हो। उहाँहरूले एकीकृत कृषि प्रणाली विकास गर्ने दीर्घकालीन योजनासहित ६ बिघा जग्गा भाडामा लिएर कृषि फार्म सञ्चालनमा ल्याउनुभएको हो।

पहिलो चरणमा परीक्षणका रूपमा १५ कट्ठा क्षेत्रफलमा गरिएको सयपत्री फूल खेतीले अपेक्षाभन्दा राम्रो उत्पादन र बजार पाएको छ। लक्ष्मीपूजासम्म ८ देखि १० क्विन्टल फूल तथा १ हजार ५०० भन्दा बढी माला बिक्री भइसकेको सञ्चालकहरूले बताएका छन्। तिहारको मुख्य दिनसम्म बजारको माग धान्नसमेत कठिन हुने अवस्था देखिएको उनीहरूको भनाइ छ।

लामो समय सरकारी सेवामा बिताएर अवकाशपछि कृषि क्षेत्रमा सक्रिय हुनुभएका पौडेलले स्वदेशी उत्पादनको प्रवर्द्धन र आयात प्रतिस्थापन गर्ने उद्देश्यले आफूहरू कृषि क्षेत्रमा जोडिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “३०–३५ वर्ष सरकारी सेवामा बिताएपछि अवकाशप्राप्त जीवनलाई देशको सेवा र उत्पादनसँग जोड्ने सोच बनायौँ। तिहारलगायत चाडपर्वमा विदेशबाट आयात हुने फूललाई प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ भन्ने उद्देश्यले यो व्यवसाय सुरु गरेका हौँ।”

उहाँका अनुसार पहिलो वर्षमै १५ कट्ठामा गरिएको सयपत्री खेती सफल भएपछि आगामी दिनमा खेतीको क्षेत्रफल विस्तार गर्दै अन्य कृषि उपज र फलफूलसमेत उत्पादन गर्ने योजना रहेको छ। कृषि कर्मबाट आर्थिक लाभसँगै आफ्नै गाउँको माटोमा पसिना बगाउन पाउँदा आत्मसन्तुष्टिसमेत मिलेको उहाँले बताउनुभयो।

फार्मको बजार व्यवस्थापन तथा समग्र कृषि गतिविधिको जिम्मेवारी सम्हालिरहनुभएका होटल व्यवसायी न्यौपानेका अनुसार ‘रिभर साइड एग्रो भिलेज एण्ड रिसोर्ट प्रालि’मार्फत एकीकृत कृषि फार्म सञ्चालन गरिएको हो।

उहाँले बुटवल, भैरहवा, परासी, सेमरी, गोपीगञ्ज, जिमिरेभार र बर्दघाटलगायतका बजारमा फूल आपूर्ति भइरहेको जानकारी दिनुभयो। स्थानीय उपभोक्तालाई स्वदेशी उत्पादनतर्फ आकर्षित गर्न अन्य बाहिरी व्यापारी तथा थोक विक्रेताको तुलनामा १५ देखि २० प्रतिशतसम्म सहुलियत मूल्यमा फूल बिक्री गरिएको उहाँको भनाइ छ।

न्यौपानेले भन्नुभयो, “पहिलो प्रयासमै फूलको उत्पादन र बजार माग उत्साहजनक देखिएको छ। स्थानीय बजारमै फूल बिक्रीलाई प्राथमिकता दिएका छौँ। यसले उपभोक्ताले सुलभ मूल्यमा ताजा फूल पाउनुका साथै स्वदेशी उत्पादनले समेत बजार पाएको छ।”

फूलको माला तयार गर्ने काममा स्थानीय महिलालाई प्रतिगोटाका आधारमा पारिश्रमिक दिएर रोजगारीसमेत उपलब्ध गराइएको छ। यसले गाउँमै रोजगारी र आयआर्जनको नयाँ अवसर सिर्जना गरेको छ।

पहिलो वर्षको परीक्षण खेतीबाट प्राप्त सफलता र बजारको उच्च मागले सञ्चालकहरूलाई थप उत्साहित बनाएको छ। आगामी दिनमा ६ बिघा क्षेत्रफलमा एकीकृत कृषि प्रणालीअन्तर्गत फूल खेतीसँगै अन्य कृषि उपज तथा फलफूल उत्पादन विस्तार गर्ने योजना रहेको छ।

यसका लागि जिल्ला कृषि ज्ञान केन्द्र, प्रदेश कृषि मन्त्रालय, कृषि निर्देशनालय तथा कृषि जोन केन्द्रलगायतका निकायबाट आवश्यक प्राविधिक तथा व्यावसायिक सहयोगको अपेक्षासमेत गरिएको छ।

मिश्रौलीमा सुरु गरिएको यो व्यावसायिक फूल खेतीले स्वदेशी उत्पादनको प्रवर्द्धन, आयात प्रतिस्थापन र स्थानीय रोजगारी सिर्जनामा कृषि क्षेत्रको सम्भावना उजागर गरेको छ। उचित योजना, बजार व्यवस्थापन र सरकारी निकायको प्राविधिक सहयोग जुट्न सके पश्चिम नवलपरासीमा व्यावसायिक कृषि उद्यमको सम्भावना अझ विस्तार हुन सक्ने देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित