राष्ट्रिय दैनिक /नवलपरासी ,२३ असाेज ।
सुस्ता क्षेत्रमा नारायणी नदीको बाढीका कारण भएको क्षतिको लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरणमन्त्री देकरण प्रसाद कलवार (सन्तु)ले स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्।
बाढीका कारण सुस्ता भूमिमा बसोबास गर्दै आएका नागरिकको दैनिक जनजीवन प्रभावित भएको तथा विभिन्न क्षेत्रमा क्षति पुगेको अवस्थाबारे कलवारले स्थानीयवासीसँग प्रत्यक्ष भेटेर जानकारी लिएका हुन्।

अनुगमनका क्रममा स्थानीयवासीले बाढीपछि आफूहरूले भोग्नुपरेका समस्या, दैनिक जीवनयापनमा परेको असर तथा तत्काल आवश्यक सहयोगका विषयमा पूर्वमन्त्री कलवारलाई जानकारी गराएका थिए।
स्थानीयको समस्या बुझेपछि कलवारले तत्कालै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसँग टेलिफोनमार्फत छलफल गरेका थिए। छलफलका क्रममा मुख्यमन्त्रीले सरोकारवाला निकायसहित सुस्ता क्षेत्रमा छिट्टै स्थलगत अनुगमन गर्ने र प्रदेश सरकारको तर्फबाट गर्न सकिने समस्या समाधान तथा आवश्यक पहल अघि बढाउने आश्वासन दिएको कलवारले बताए।

कलवारले बाढीबाट प्रभावित नागरिकको समस्या समाधानका लागि प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताए। उनले प्रभावित क्षेत्रको वास्तविक अवस्था पहिचान गरी तत्कालीन तथा दीर्घकालीन समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए।

नारायणी नदीको बाढीका कारण सुस्ता क्षेत्रका नागरिकले वर्षेनी विभिन्न समस्या झेल्दै आएका छन्। बाढीबाट हुने क्षति न्यूनीकरण तथा प्रभावित नागरिकको सुरक्षित बसोबासका लागि दीर्घकालीन योजना आवश्यक रहेको स्थानीयको भनाइ छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

