Rashtriya Dainik

नारायणीको प्रहारले सुस्ता बेहाल : घर डुबे, खेत बगर बने, पीडितको भविष्य अन्योलमा

आरपि उपाध्याय / नवलपरासी ,२२ असाेज

पश्चिम नवलपरासी नारायणी पारीको सुस्तामा असोज दोस्रो साता आएको बाढीले ठूलो क्षति पुर्याएपछी पीडितहरु विद्यालय र आश्रय स्थलमा बस्न बाध्य भएका छन।

असोज ८ गतेदेखि ११ गतेसम्म आएको भीषण वर्षाले नारायणी नदीमा आएको बाढीबाट सुस्ताको अस्थायी बाध भत्काएर नदीको बाढी थारु टोल हुँदै पहाडी टोलमा पसेपछि पीडित नेपालीलाई सुस्ता ५ को वि.पि. मा.वि. र आश्रय स्थलमा बसोबास गराइएको थियो।

नारायणी नदीमा आएको बाढी थारु टोलमा पसेपछि ८६ घर डुबानमा परेकोमा सुस्ता बासीको पीडा कहालीलाग्दो बन्दै गइरहेको छ।

खेतीयोग्य जमीनमा लगाइएको धान पाक्न लागेको अवस्थामा पुरिएको छ भने उखु खेत बगरमा परिणत भएको तथा सुस्ता बासीको छाक टार्ने र बालबालिकालाई शिक्षा,दिक्षाको अवस्था पनि चुनौतीपूर्ण नै छ।

बाढीले प्रभावित भएको घरहरू मध्ये ४५ घरपरिवार पुर्ण प्रभावित र ४१ घरपरिवार आंशिक प्रभावित भएको एक सर्वेक्षणले बताएको छ।
बाढी पसेपछि कच्ची घर भत्केका छन भने नभत्केका घरमा बालुवा पुरिएको छ। सुस्तामा अबको कष्टकर दिनचर्या कसरी सम्हाल्ने भन्ने पीडाले भरिएको प्रश्न पनि सुस्ता बासीले गर्न थालेको पाइन्छ।

बाढीले सुस्तामा रहेको आधारभूत स्वास्थ्य चौकी प्रभावित पारेको छ। स्वास्थ्य चौकीमा पानी पस्दा केही औषधि नष्ट भएको छ भने ओपिटी कक्ष पनि पुर्ण रुपमा हिलाम्य भएको सुस्ता स्वास्थ्य चौकीले जानकारी दियो।
त्यसैगरी नारायणी पारीको सुस्तामा रहेको जनता आधारभूत विद्यालयको चउरमा रहेको हिलो अझैसम्म पनि सुकेको छैन । विद्यालयमा खानेपानीको फिल्टर क्षति भएको छ भने दिवा खाना भण्डारन कक्षमा पानी पसेको प्रधानाध्यापक माधव थापाले जानकारी दिनुभयो।

विद्यालयको ग्यास चुलो क्षति भएको र बालविकास कक्ष पुर्ण रुपमा हिलाम्मे भएको विद्यालयले जनाएको छ।
सुस्तामा नदीको पानी पसेर अकल्पनीय क्षति भएपछि स्थानीय,प्रदेश र संघ सरकारको ध्यान नपुगेको पीडा सुस्ता बासीले बताएका छन।

सुस्तामा बाढी पसेपछि समस्या समाधानको लागि एक प्रतिनिधि मण्डल, जिल्ला प्रशासन कार्यालय नवलपरासी (ब.स.प.) मा ज्ञापन पत्र बुझाउने तयारी गरिएको बुझिएको छ भने २५ सङ्ख्याको ट्याक्टरमा ५०० सुस्ता बासीको सङ्ख्या सहित एक प्रतिनिधि मण्डल काठमाडौं पुगि माइतीघर मण्डलामा अनशन गर्ने तयारी भइरहेको सुस्ता बचाउ अभियान की महिला नेतृ नुरजहा बेगमले जानकारी दिनुभयो।

महिला नेतृ बेगमले बाढीले पुर्याएको क्षति थेग्नै नसक्ने भएकोले यो क्षति सम्बोधन गर्न नेपाल सरकार मौन रहेकोमा सरकारको आँखा खोल्न ज्ञापन पत्र र धर्ना कार्यक्रम अगाडि बढाइएको बताउनु भएको छ।

त्यसैगरी पीडित सुस्ता बासी अब्दुल मुस्तफाले पनि सुस्ता भूमिको रक्षा गर्दागर्दै परेको पीडालाई अबिलम्ब सरकारले सम्बोधन गर्नुपर्ने आग्रह गर्नुभयो।

सुस्ताकी लडाकु महिला सबरुन नेशाले आफूहरुले सबै गुमाइसकेका छौं,शरीरमा प्राण रहेसम्म हर विपत्तिको सामना गर्ने आट बढेको प्रतिक्रिया दिनुभयो।

सुस्ताकै सन्तोष कुर्मी र ओसियर खाँले पनि नदीको पानी घट्नासाथ स्थायी तटबन्ध गर्नुपर्ने र संघीय सरकारको प्रतिनिधि सुस्ता पुगि कटान,डुबान र पीडितको अवस्थाबारे बुझ्न जरुरी रहेको प्रतिक्रिया दिए।

यसै क्रममा सुस्ता बचाउ अभियानका अध्यक्ष आदम हुसेन खाँ ले हाम्रा समाचार प्रमुख आर.पि. उपाध्याय संग संक्षिप्त प्रतिक्रिया दिदै सारा जीवन सुस्ता बचाउ अभियानमा लागियो,अब सुस्ताको माटो सुरक्षित पार्न र पीडितको घाउमा मलम लगाउन नेपाल सरकारले आफ्नो कर्तव्य पूरा गर्ने समय आएको प्रतिक्रिया दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित