सुनसरी ,२२ असाेज । प्रसव पीडाबाट छट्पटाइरहेकी सुनसरीको कोशी गाउँपालिका–३ की लालु सदा अस्पतालले भर्ना नलिएपछि एम्बुलेन्समै सुत्केरी हुन बाध्य भएकी छन्।
परिवारका अनुसार जिल्ला अस्पताल सुनसरी, इनरुवाले आवश्यक कागजात नमिलेको भन्दै सदालाई भर्ना लिन मानेन। अस्पतालले उनलाई ‘हाई रिस्क’ केस भन्दै अन्यत्र लैजान सुझाव दिएको थियो।
त्यसपछि सहयोगीको पहलमा सदालाई विराटनगरतर्फ लैजाँदै गर्दा दुहबीमा पुगेर एम्बुलेन्सभित्रै सामान्य प्रसूति भएको बताइएको छ।
जिल्ला अस्पताल सुनसरीको आधिकारिक वेबसाइटमा भने आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, सामाजिक सेवा एकाइसँगै मातृ तथा नवशिशु स्वास्थ्य क्लिनिक सञ्चालनमा रहेको उल्लेख छ। अस्पतालको नागरिक बडापत्रमा विभिन्न स्वास्थ्य सेवा प्रवाहको विवरणसमेत राखिएको छ।
घटनापछि प्रसव पीडामा रहेकी महिलालाई तत्काल स्वास्थ्य परीक्षण र आवश्यक उपचार गर्ने कि कागजात पूरा भएपछि मात्रै प्रक्रिया अघि बढाउने भन्ने प्रश्न उठेको छ।
अस्पतालले कागजात नमिलेको भन्दै उपचार प्रक्रिया रोकेको हो भने अस्पताल प्रशासनले घटनाको वास्तविकता, बिरामीको अवस्था, गरिएको स्वास्थ्य परीक्षण, भर्ना नलिनुको कारण र ‘हाई रिस्क’ भनिएको आधार सार्वजनिक गर्नुपर्ने माग उठेको छ।
यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पनि अस्पताल परिसरबाहिर महिलाले शिशु जन्माएको घटनामा छानबिनपछि ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि विभागीय कारबाहीको सिफारिस गरिएको थियो।
सरकारी अस्पताल विपन्न तथा गरिब परिवारका लागि उपचारको मुख्य भरोसा मानिन्छ। त्यसैले प्रसवजस्तो संवेदनशील अवस्थामा अस्पताल पुगेकी महिलाले उपचार नपाई एम्बुलेन्समै शिशु जन्माउनुपर्ने अवस्था आउनु स्वास्थ्य सेवा प्रणालीको पहुँच, व्यवस्थापन र जवाफदेहितामाथि गम्भीर प्रश्न बनेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

