Rashtriya Dainik

सरावलको प्रशासनिक मुहार फेरिँदै, प्रशासकीय भवन निर्माण करिब ७० प्रतिशत पूरा

राष्ट्रिय दैनिक / नवलपरासी ,२२ असाेज

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य करिब ७० प्रतिशत पूरा भएको छ। सरावल गाउँपालिका–३ सरावलमा निर्माण भइरहेको भवनको काम तीव्र गतिमा अघि बढिरहेको गाउँपालिकाले जनाएको छ।

भवन निर्माणको काम सम्पन्न भएपछि गाउँपालिकाका प्रशासनिक सेवा एउटै भवनबाट व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। सेवाग्राही नागरिकलाई समेत सेवा लिन सहज हुने गाउँपालिकाको विश्वास छ।

गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले प्रशासकीय भवन निर्माण हुनु गाउँपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। निर्माण कार्यलाई गुणस्तरीय बनाउँदै तोकिएको समयभन्दा अगावै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।

“प्रशासकीय भवन निर्माण हुनु हाम्रो लागि गौरवको विषय हो। अहिले करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ। निर्माणलाई गुणस्तरीय बनाउँदै समयअगावै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ,” अध्यक्ष चौधरीले भन्नुभयो।

उहाँका अनुसार भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाको प्रशासनिक सेवा थप व्यवस्थित र प्रभावकारी हुनेछ। “एउटै भवनबाट प्रशासनिक सेवा सञ्चालन भएपछि सेवाग्राहीलाई सेवा लिन सहज हुनेछ। गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउन यसले महत्वपूर्ण भूमिका खेल्नेछ,” उहाँले भन्नुभयो।

गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि भ्याट तथा पीएसबाहेक ८ करोड ३० लाख ६६ हजार १६७ रुपैयाँ लागत अनुमान गरेको थियो। निर्माण कम्पनी बी.एम. सार्वजनिक जेभी, नुवाकोटले करिब २८ प्रतिशत कममा ६ करोड ८५ लाख ३६ हजार ९८४ रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण अघि बढाएको हो।

भवन निर्माणको शिलान्यास गत मंसिर ३ गते गाउँपालिकाका अध्यक्ष चौधरी, उपाध्यक्ष बासमती हरिजन र प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले संयुक्त रूपमा गर्नुभएको थियो।

प्रशासकीय भवन संघीय सरकारको ६० प्रतिशत र सरावल गाउँपालिकाको ४० प्रतिशत लगानीमा निर्माण भइरहेको हो। सम्झौताअनुसार भवन निर्माण २०८४ पुस १५ गतेसम्म सम्पन्न गर्नुपर्नेछ।

निर्माण कम्पनीले पनि भवन निर्माणको काम निर्धारित समयमै सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने जनाएको छ। हालसम्म करिब ७० प्रतिशत काम सम्पन्न भइसकेकाले तोकिएको समयभन्दा अगावै भवन निर्माण पूरा हुने अपेक्षा गाउँपालिकाले गरेको छ।

प्रशासकीय भवनसँगै गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा अन्य भौतिक पूर्वाधार निर्माणलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको अध्यक्ष चौधरीले बताउनुभयो।

नयाँ प्रशासकीय भवन सञ्चालनमा आएपछि नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने गाउँपालिकाको लक्ष्य छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित