Rashtriya Dainik

सरावलका नागरिकलाई मोतियाबिन्दुको उपचार निःशुल्क, गाउँपालिका र आँखा अस्पतालबीच सम्झौता

राष्ट्रिय दैनिक /नवलपरासी ,२० असाेज।

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले गाउँपालिकावासीलाई निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया सेवा उपलब्ध गराउने भएको छ । यसका लागि गाउँपालिका र डा. विनोद निता कँडेल आँखा अस्पताल, परासीबीच सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार गाउँपालिकाले आवश्यक बजेट उपलब्ध गराउनेछ भने डा. विनोद निता कँडेल आँखा अस्पतालले गाउँपालिकावासीको मोतियाबिन्दु पहिचान तथा आवश्यक शल्यक्रिया सेवा प्रदान गर्नेछ ।

सम्झौतापत्रमा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी र अस्पतालका व्यवस्थापक अजय पाण्डेले हस्ताक्षर गर्नुभएको हो ।

आर्थिक अभावका कारण मोतियाबिन्दुको उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार विशेषगरी ज्येष्ठ नागरिक, विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारका नागरिक यस सेवाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

“आँखाको ज्योति नागरिकको अमूल्य सम्पत्ति हो । पैसा नभएकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिन स्थानीय सरकारले आवश्यक लगानी गर्छ,” अध्यक्ष चौधरीले भन्नुभयो ।

अस्पतालका व्यवस्थापक पाण्डेले गाउँपालिकासँगको सहकार्यले उपचारको पहुँचबाट टाढा रहेका नागरिकलाई राहत पुग्ने बताउनुभयो । समयमै पहिचान र उपचार हुन सके मोतियाबिन्दुका कारण दृष्टि गुमाउने जोखिम न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ ।

सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नु स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो । आर्थिक अभावका कारण मोतियाबिन्दुको उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले अस्पतालसँग सहकार्य गरी कार्यक्रम अघि बढाएको उहाँको भनाइ छ । कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लक्षित नागरिकसम्म सेवा पुर्‍याउन गाउँपालिकाले आवश्यक समन्वय र व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाले आवश्यक प्रक्रिया पूरा गरी लक्षित नागरिकको पहिचान गरेर सेवा उपलब्ध गराउने जनाएको छ । कार्यक्रममार्फत आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उपचारमा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित