काठमाडौं ,२० असाेज।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद्का घटनामा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्तासम्बन्धी कानुनी व्यवस्था संशोधन गर्न सरकार तयारीमा रहेको बताएकी छन्।
सिंहदरबारमा मंगलबार आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री गौतमले संसद्को नियमित अधिवेशन अन्त्य भएकाले आवश्यक कानुनी व्यवस्था अध्यादेशमार्फत अघि बढाउने तयारी भइरहेको जानकारी दिइन्।
उनका अनुसार मृत्यु घोषणा र मृत्यु दर्तासम्बन्धी कानुन संशोधनका लागि मन्त्रालयले आवश्यक खाका तयार गरिसकेको छ। विपद्का घटनामा लामो समयदेखि बेपत्ता व्यक्तिको मृत्यु घोषणा र त्यसपछि मृत्यु दर्ता गर्न देखिएको कानुनी जटिलता समाधान गर्ने गरी व्यवस्था गर्न लागिएको उनले बताइन्।
‘मृत्यु घोषणा कसरी गर्ने भन्ने प्रक्रियाका विषयमा पनि छलफल भइरहेको छ। एउटा समाधान निस्किसकेको छ। अब मूल ऐनमै संशोधन गर्नुपर्ने हुन्छ,’ मन्त्री गौतमले भनिन्।
उनले देवानी संहिता, पञ्जीकरण ऐन वा विपद्सम्बन्धी कानुनमध्ये उपयुक्त कानुनी व्यवस्थामा संशोधन गरी मृत्यु घोषणा तथा मृत्यु दर्ताको प्रक्रिया सहज बनाउने तयारी भइरहेको बताइन्।
विपद् व्यवस्थापन बहुआयामिक विषय भएकाले मौसम पूर्वानुमान, राहत तथा पुनर्स्थापना, उद्योगी–व्यवसायीलाई सहजीकरण र विपद्मा अभिभावक गुमाएका बालबालिकाको संरक्षणलगायत विषयमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर आवश्यक कानुनी व्यवस्था गरिने पनि उनले बताइन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

