राष्ट्रिय दैनिक / नवलपरासी ,२० असाेज
पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ भगडामा जितिया पर्वको अवसरमा आयोजित प्रथम अमरनारायण स्मृति कप वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
हरियाली जनकल्याण संस्था, भगडाको आयोजनामा भएको प्रतियोगिताको उपाधि बन्जरिया टोलीले जितेको छ। बन्जरियाले प्रथम हुँदै रु. ३० हजार पुरस्कार प्राप्त गरेको छ भने पिपरा टोली द्वितीय हुँदै रु. २० हजार पुरस्कारमा चित्त बुझाएको छ।

स्थानीय खेल प्रतिभाको पहिचान तथा प्रवर्द्धन, युवालाई खेलकुदतर्फ आकर्षित गर्ने तथा आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा २२ टोलीको सहभागिता रहेको थियो।

प्रतियोगिताको समापन सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले गर्नुभएको थियो। समापन अवसरमा आयोजक, खेलाडी तथा स्थानीयवासीले प्रतियोगिताले ग्रामीण क्षेत्रमा रहेका खेल प्रतिभालाई अवसर प्रदान गर्नुका साथै सरावलमा भलिबल खेलको विकासमा योगदान पुर्याएको बताएका छन्।
समापन कार्यक्रममा सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजन,सरावल वाड नं. १ का कार्यवाहक वडा अध्यक्ष बुद्धन प्रसाद चौधरीले बाेल्नुभएकाे थियोे । प्रतियोगिताका प्रमुख निर्णायक गोविन्द प्रधान रहनुभएको थियो भने अफिसियल रेफ्रीमा निम नारायण चौधरी, महेन्द्र चौधरी, धुराही चौधरी र कुञ्ज बिहारी कँवर रहनुभएको थियो।

जितिया पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगिताले सांस्कृतिक उत्सवसँगै भगडामा खेलकुदको रौनकसमेत थपेको थियो। प्रतियोगिताले स्थानीय युवाबीच आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना थप मजबुत बनाएको आयोजक हरियाली जनकल्याण संस्थाले जनाएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

