राष्ट्रिय दैनिक /भैरहवा, असोज १७ ।
कृषि उत्पादनलाई उद्योगसँग जोड्दै कृषि क्षेत्रको व्यावसायिकीकरण तथा औद्योगिकीकरण अघि बढाउन नीतिगत सुधार, पूर्वाधार विकास र बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा उद्योगी–व्यवसायीले जोड दिएका छन्।
कृषि उत्पादनको औद्योगिकीकरणमा देखिएका विभिन्न समस्या, चुनौती तथा समाधानका उपायबारे शुक्रबार भैरहवामा आयोजित छलफल तथा अन्तरक्रियामा नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष नगेन्द्र अग्रहरी, निवर्तमान अध्यक्ष ओमप्रकाश अग्रहरी, पूर्वअध्यक्ष वीरेन्द्र कुमार अग्रहरी तथा उपाध्यक्ष रामकुमार गुप्ता सहभागी भएका थिए।
अन्तरक्रियामा कृषि उत्पादनलाई उद्योगसँग जोडेर मूल्य अभिवृद्धि, रोजगारी सिर्जना र स्वदेशी उत्पादनको बजार विस्तार गर्ने विषयमा छलफल भएको थियो। सहभागी उद्योगी–व्यवसायीले कृषि क्षेत्रलाई व्यावसायिक र औद्योगिक रूपमा अघि बढाउँदा व्यवसायीले भोग्दै आएका नीतिगत, व्यावहारिक तथा बजारसम्बन्धी समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

उनीहरूले कृषि उत्पादनको प्रशोधन तथा बजारीकरण, स्वदेशी उत्पादनको प्रवर्द्धन, लगानीमैत्री वातावरण, आवश्यक पूर्वाधार, प्रविधिको प्रयोग तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
छलफलमा कृषि उत्पादनको लागत, बजारको सुनिश्चितता, प्रशोधन उद्योगको विस्तार तथा किसान र उद्योगबीचको सम्बन्धलाई थप व्यवस्थित बनाउने विषयमा समेत सुझाव प्रस्तुत गरिएको थियो।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि उत्पादनलाई उद्योगसँग जोडेर मूल्य अभिवृद्धि गर्ने तथा किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउने वातावरण निर्माण गर्न कृषि उद्योगको भूमिका महत्वपूर्ण रहेको बताएकी थिइन्। उद्योगी–व्यवसायीले उठाएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी थिइन्।

नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष नगेन्द्र अग्रहरीसहितको सहभागिताले जिल्लाका उद्योगी–व्यवसायीले कृषि उत्पादनमा आधारित उद्योगको सम्भावना, लगानीको वातावरण र बजार विस्तारका विषयलाई प्राथमिकताका साथ उठाएको देखिएको छ। संघका अध्यक्ष अग्रहरीको नेतृत्वमा संघले यसअघि पनि जिल्लाका उद्योग–व्यवसायसँग सम्बन्धित समस्या समाधानका लागि सरोकारवालासँग अन्तरक्रिया गर्दै आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

