Rashtriya Dainik

आधारभूत स्वास्थ्य सेवाको मूल्याङ्कनमा जयपृथ्वी नगरपालिका प्रथम

दोरेन्द्र खड्का /बझाङ ,१७ असाेज।

आर्थिक वर्ष २०८२/०८३ मा बझाङका १२ वटै स्थानीय तहबाट सम्पादित आधारभूत स्वास्थ्य सेवाको मूल्याङ्कनमा जयपृथ्वी नगरपालिका जिल्लामै प्रथम भएको छ।

स्वास्थ्य कार्यालय बझाङले आयोजना गरेको जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठीका अवसरमा गरिएको मूल्याङ्कनमा जयपृथ्वी नगरपालिकाले जिल्लाका अन्य स्थानीय तहलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको हो।
स्वास्थ्य सेवाका विभिन्न सूचक तथा स्थानीय तहबाट सम्पादित आधारभूत स्वास्थ्य सेवाको प्रगतिको मूल्याङ्कनका आधारमा जयपृथ्वी नगरपालिका प्रथम भएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ। मूल्याङ्कनमा बित्थडचिर गाउँपालिका दोस्रो र मष्टा गाउँपालिका तेस्रो भएका छन्।

जयपृथ्वी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा हासिल गरेको यो उपलब्धिलाई नगरपालिकाका स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूले गौरव र खुसीको विषयका रूपमा लिएका छन्। सीमित स्रोतसाधन तथा विभिन्न चुनौतीका बीच स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयास, स्थानीय तहको समन्वय र सरोकारवालाहरूको सहयोगका कारण यो उपलब्धि हासिल गर्न सम्भव भएको  जयपृथिवी नगरपालिका का स्वस्थ्य शाखा प्रमुख जनक सिंहको भनाइ छ।

शाखा प्रमुख सिंहका अनुसार यो उपलब्धि  हासिल गर्न नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, गैरसरकारी संघ–संस्था तथा आमा समूहहरूको प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग महत्वपूर्ण रहेको छ।

स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूको निरन्तर मेहनत र जिम्मेवारीपूर्ण कार्यसम्पादनका कारण आधारभूत स्वास्थ्य सेवाको क्षेत्रमा नगरपालिकाले राम्रो प्रगति गर्न सकेको बताइएको छ। स्वास्थ्य सेवाको पहुँच विस्तार, नियमित सेवा प्रवाह तथा नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यमा स्वास्थ्यकर्मीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको सिंहले बताउनु भयाे ।

सिंहले यो सफलता कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई स्वास्थ्य क्षेत्रमा क्रियाशील सम्पूर्ण टिमको सामूहिक प्रयासको परिणाम भएको जनाएको छ। आगामी दिनमा समेत स्वास्थ्य सेवाको गुणस्तरलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ।

बझाङका १२ स्थानीय तहको स्वास्थ्य सेवाको मूल्याङ्कनमा जयपृथ्वी नगरपालिका प्रथम, बित्थडचिर गाउँपालिका द्वितीय र मष्टा गाउँपालिका तृतीय भएका छन्। उत्कृष्ट स्थान हासिल गर्ने स्थानीय तहलाई समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा सम्मानसमेत गरिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित