Rashtriya Dainik

गजेन्द्र मोक्ष धाममा मङ्सिरमा ‘विराट महायज्ञ’, वैदिक विश्वविद्यालय स्थापनाको महासंकल्प

आरपि उपाध्याय / त्रिवेणी ,१७ असाेज

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ स्थित गजेन्द्र मोक्ष धाममा आउँदो मङ्सिर महिनामा अष्टाचल धनधान्यान्चल श्री गजेन्द्र मोक्ष नारायण वैभव विराट महायज्ञ हुने भएको छ।

मुक्तिनाथ पिठाधिस स्वामी कमल नयनाचार्यको पावन सतसंकल्पमा हुने श्री मुक्तिनाथ पिठ वेद विद्याश्रमलाई विशिष्टतम महाविद्यालयमा अभिवृद्धि गर्दै गजेन्द्र मोक्ष वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ महायज्ञको तयारी गरिएको हो।

आउँदो मङ्सिर १ गतेदेखि २९ गतेसम्म समायोजित महायज्ञ सम्पन्न गर्ने उद्देश्यका लागि त्रिवेणी स्थित गजेन्द्र मोक्ष धाममा शनिबार विचार विमर्श गर्न एक विचार गोष्ठीको आयोजना गरिएको थियो।

विचारविमर्श गोष्ठीलाई सम्बोधन गर्दै मुक्तिनाथ पिठाधिस स्वामी नयनाचार्यले प्राण रहित राष्ट्रमा प्राण भर्नका लागि र हिन्दु धर्मको रक्षा निमित्त धार्मिक गतिविधि सहित महायज्ञको आयोजना गरिएको बताउनु भयो।

उहाँले अब देशमा जिन्दाबाद र मुर्दाबादको नाराबाट कहिल्यै देशको विकास हुन नसक्ने बताउदै देश विकासको लागि नैतिक शिक्षा सहितको धार्मिक गतिविधिलाई पनि बलियो बनाउनुपर्ने धारणा राख्दै अब देशमा पाठ्यपुस्तकमा नै नैतिक शिक्षा सहितको धार्मिक गतिविधि सम्बन्धि विषयवस्तु पनि समावेश गरिनुपर्ने जिकिर गर्नुभयो।

स्वामी नयनाचार्यले आफू २०४८ सालदेखि नै गजेन्द्र मोक्ष धामलाई धार्मिक केन्द्रविन्दु बनाउदै जप,तप,उपासना र आराधना सहित धार्मिक गतिविधिलाई अगाडि बढाउदै आएको जिकिर पनि गर्नुभयो।

कार्यक्रममा करपात्री स्वामी कृप्रपन्नाचार्यले कार्यक्रमको लक्ष्य र उद्देश्यमाथि प्रकाश पार्दै मोक्ष धाममा आउने भक्तजनहरुलाई आवासको बन्दोबस्त चुनौतीपूर्ण रहेको चर्चा गर्दै एक महिना लामो समयसम्म चल्ने महायज्ञ सम्पन्न गर्न आवास,शौचालय, सरसफाइ लगायत कार्यको व्यवस्थापन गर्न सबैको सामुहिक प्रयासबाटै सम्भव हुने विचार व्यक्त गर्नुभएको थियो।

सो अवसरमा अखण्ड ज्योति बाबा स्वामी श्री जी च्यारिटेबल ट्रस्टका अध्यक्ष कृष्ण शर्माले स्वामी जी महाराजले लिनु भएको धार्मिक महासंकल्पलाई पूरा गर्नु हामी सबैको परम कर्तव्य रहेको धारणा राख्दै समयरुपी भगवानलाई पहिचान गर्न सकिए गन्तव्यमा पुग्न सहज हुने विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा विनयी त्रिवेणी वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाह,त्रिवेणी गजेन्द्र मोक्ष धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुषाल,धार्मिक व्यक्तित्वहरु सत्यदेव पाण्डे,मोतीलाल उपाध्याय, शालिकराम तिमिल्सिना,विन्दु काफ्ले, रघुपती न्यौपाने,भरत पाण्डे,देवेस मिश्र,पत्रकार द्वय,नारायण शर्मा,घनश्याम बगाले लगायतले महायज्ञ सम्पन्न गर्न तन,मन,धनबाट प्रतिबद्ध भइ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

एक महिनासम्म सञ्चालन हुने वैभव विराट महायज्ञ सम्पन्न गर्न मुक्तिनाथ पिठाधिस स्वामी कमलनयानाचार्यको अध्यक्षतामा १ हजार १ सदस्यीय मुल समिति गठन गर्ने निर्णय भएको छ,भने अन्य उपसमिति गठन गर्ने गरी वृहत् छलफल गरी कार्तिक ७ गतेको बैठकमा प्रतिवेदन सहित प्रतिबद्धता पत्र प्रस्तुत गर्न पनि भेलाले निर्णय गरेको थियो ।

महायज्ञमा प्राज्ञिक भेला, पत्रकार सम्मेलन,कवि सम्मेलन,साधुसन्त मठाधिस र पिठाधिसहरुको अन्तरक्रिया सहित बृहत् भेला गरिने पनि आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित