राष्ट्रिय दैनिक / नवलपरासी , १७ असोज ।
नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर दुई छुट्टाछुट्टै प्रक्रिया अघि बढिरहेका बेला पश्चिम नवलपरासीमा शेरबहादुर देउवा पक्षले जिल्लास्तरीय भेला आयोजना गर्दै आफ्नो संगठनात्मक गतिविधि अघि बढाएको छ।
कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइरहेको अवस्थामा देउवा पक्षले पनि नियमित महाधिवेशनको तयारीलाई तीव्रता दिएको हो।
नवलपरासीमा संस्थापन पक्षको वडा तथा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेपछि शनिबार देउवा पक्षको जिल्ला अधिवेशन तयारी समितिले परासीमा जिल्लास्तरीय भेला आयोजना गरेको हो।
भेलाले जिल्लामा अधिवेशन प्रक्रिया अघि बढाउन दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पालिकास्तरमा संयोजक तोकेको छ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राजुप्रसाद अधिकारी र क्षेत्र नम्बर २ मा विक्रम रानालाई संयोजकको जिम्मेवारी दिइएको छ।
त्यस्तै पालिकातर्फ रामग्राममा प्रकाश चौधरी, सुनवलमा गमबहादुर गुरुङ, सरावलमा कृष्णदत्त चौधरी, पाल्हीनन्दनमा तारेन्द्र बर्मा, प्रतापपुरमा कमलेशकुमार गुप्ता र सुस्तामा अजमुद्दिन मियाँलाई संयोजक तोकिएको छ।
जिल्लामा सातवटा पालिका रहे पनि बर्दघाटका लागि भने भेलाबाट संयोजक तोकिएको जानकारी दिइएको छैन।

देउवा पक्षका केन्द्रीय प्रतिनिधि विकास घिमिरेका अनुसार असोज १८ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने र असोज २१ गतेसम्म क्षेत्रीय अधिवेशन सम्पन्न गरी त्यसपछि जिल्ला अधिवेशनको प्रक्रिया अघि बढाइनेछ।
यस प्रक्रियामा सहभागी हुने क्रियाशील सदस्य भने १४औँ महाधिवेशनकै सदस्य रहने बताइएको छ। घिमिरेका अनुसार पश्चिम नवलपरासीमा करिब ८ हजार क्रियाशील सदस्य रहेका छन्।
देउवा पक्षको अधिवेशन प्रक्रिया अघि बढाउन केन्द्रबाट धर्मदत्त चापागाईंलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ।
भेलाको उद्घाटन गर्दै ट्रेड युनियनका सल्लाहकार अयोध्याप्रसाद यादवले तत्काल राजनीतिक लाभ लिन खोज्ने प्रवृत्तिले पार्टीलाई विभाजनको दिशातर्फ लैजान सक्ने धारणा राखे।
उनले विशेष महाधिवेशनको नाममा अघि बढाइएको कांग्रेस र नियमित महाधिवेशन गराउन खोजिरहेको देउवा नेतृत्वको कांग्रेसबीच अहिले राजनीतिक संघर्षको अवस्था बनेको बताए।

पार्टीको मूल्य, मान्यता र परम्परालाई जोगाउन नियमित महाधिवेशनको पक्षमा सक्रिय भएर लाग्न उनले कार्यकर्तालाई आग्रह गरे।
यादवले विशेष महाधिवेशनमार्फत निर्वाचित भएका प्रतिनिधिहरूलाई राजीनामा दिएर आफूहरूले अघि बढाउने प्रक्रियामा सहभागी हुनसमेत आग्रह गरे। त्यरी आउनेहरूलाई उचित स्थान दिइने उनको भनाइ थियो।
कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर केन्द्रमा देखिएको विवादको प्रभाव नवलपरासीमा पनि संगठनात्मक तहमा देखिन थालेको छ। संस्थापन पक्षले आफ्नो अधिवेशन प्रक्रिया अघि बढाइसकेको अवस्थामा देउवा पक्षले जिल्लास्तरीय भेला गर्दै वडा तहदेखि छुट्टै अधिवेशनको तयारी थालेको हो।
देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते महाधिवेशन गर्ने मिति अघि सारेको छ। अर्कोतर्फ संस्थापन पक्षले असोज १८ गतेदेखि काठमाडौंमा महाधिवेशन गर्ने तयारी अघि बढाएको छ।

यससँगै नवलपरासी कांग्रेसमा अब वडा तहदेखि नै दुई पक्षका छुट्टाछुट्टै संगठनात्मक गतिविधि अघि बढ्ने अवस्था बनेको छ। आगामी अधिवेशन प्रक्रियामा स्थानीय नेता–कार्यकर्ताको सहभागिता र संगठनात्मक संरचनाले जिल्लाको कांग्रेस राजनीतिमा नयाँ समीकरण निर्माण गर्ने आधार तयार गर्नेछ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

