Rashtriya Dainik

भगडामा प्रथम अमरनारायण स्मृति कप भलिबल सुरु, २२ टोली मैदानमा

राष्ट्रिय दैनिक / नवलपरासी , १७ असोज ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ भगडामा जितिया पर्वको अवसर पारेर प्रथम अमरनारायण स्मृति कप वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ।

स्थानीय खेल प्रतिभाको पहिचान तथा प्रवर्द्धन, युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै आपसी सद्भाव, एकता र सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा २२ टोलीको सहभागिता रहेको छ।

हरियाली जनकल्याण संस्था, भगडाको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले गर्नुभएको हो। प्रतियोगिता असोज १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले खेलकुद युवाको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, एकता र सहकार्यको भावना विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। स्थानीय तहमा आयोजना हुने यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रमा लुकेर रहेका खेल प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उहाँको भनाइ थियो।

जितिया पर्वको सांस्कृतिक उत्सवसँगै भलिबल प्रतियोगिताले भगडामा खेलकुदको रौनक थपेको छ। पर्वको अवसरमा आयोजित प्रतियोगिताले संस्कृति र खेलकुदलाई एकैसाथ जोड्दै स्थानीय युवाबीचको सम्बन्ध थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

हरियाली जनकल्याण संस्थाका अध्यक्ष टीका चौधरीले प्रतियोगिताले स्थानीय युवामा खेलप्रतिको आकर्षण बढाउनुका साथै भलिबलको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

अध्यक्ष टीका चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा निम नारायण चौधरी, महेन्द्र चौधरी, धुराही चौधरी, कुञ्ज बिहारी कँवरलगायत खेलप्रेमी, स्थानीयवासी तथा विभिन्न टोलीका खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताका प्रमुख निर्णायक गोविन्द प्रधान रहनुभएको छ।

२२ टोलीबीच हुने प्रतिस्पर्धाले स्थानीय खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै सरावलमा भलिबल खेलको विकास र प्रवर्द्धनमा समेत टेवा पुग्ने आयोजकको विश्वास छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित