Rashtriya Dainik

पर्सामा कुखुरा लुटपाटको आरोप–प्रतिआरोप, व्यवसायी सङ्घद्वारा खण्डन

राजन कुमार बानिया / पर्सा, १६ असोज

पर्सामा १९ क्विन्टल बोइलर कुखुरा र नगद ५ लाख रुपैयाँ लुटिएको भनिएको घटनालाई पर्सा ग्रामीण कुखुरा व्यवसाय सङ्घले खण्डन गरेको छ। सङ्घले उक्त घटना लुटपाट नभई कुखुराको बाँकी रकम असुली गर्ने क्रममा गाडी रोकेर कुखुरा झारिएको दाबी गरेको छ।

आर्या फ्रेस हाउस एण्ड सप्लायर्सका सञ्चालक फिरोज अन्सारीले मंगलबार राति धोबिनी गाउँपालिका–३, गुलरियास्थित क्यामुदिन पोल्ट्री फर्मका सञ्चालक क्यामुदिन मियाँसहितका व्यक्तिले चालकबाट कुखुरा र नगद रकम लुटेको आरोप लगाएका थिए। अन्सारीले बुधबार पत्रकार सम्मेलन गर्दै घटनाबारे सार्वजनिक गरेका थिए।

उक्त आरोपको खण्डन गर्दै सङ्घले बिहीबार जिल्ला समन्वय समिति पर्सा परिसरमा पत्रकार सम्मेलन गरी घटना लुटपाट नभएको दाबी गरेको हो।

सङ्घका अध्यक्ष देवेन्द्र प्रसाद आजादका अनुसार क्यामुदिन मियाँले अन्सारीबाट कुखुराको करिब साढे ६ लाख रुपैयाँ भुक्तानी लिन बाँकी थियो। पटक–पटक रकम माग्दा पनि अन्सारीले आलटाल गरेपछि बाध्य भएर गाडी रोकी कुखुरा मात्र झारिएको उनको दाबी छ।

“क्यामुदिन मियाँले फिरोजसँग साढे ६ लाख रुपैयाँ कुखुराको बाँकी रकम लिनुपर्ने छ। पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेपछि बाध्य भएर गाडी रोकेर कुखुरा मात्र खसालिएको हो,” अध्यक्ष आजादले भने।

सङ्घले अन्सारीमाथि विभिन्न किसान तथा व्यवसायीको २५ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको आरोपसमेत लगाएको छ।

अध्यक्ष आजादले आफ्नो करिब १५ लाख रुपैयाँ, बहुदरमाईका सोनम फ्रेस हाउसका सञ्चालक अनिल प्रसाद यादवको ९४ हजार रुपैयाँ, वीरगन्ज–२७ घुर्मीका दाना डिलर मनोज पटेलको २ लाख ५० हजार रुपैयाँ, वीरगन्ज–१९ विन्दवासिनीका अनिश सप्लायर्सका सञ्चालक रामअयोध्या कलवारको ४० हजार रुपैयाँ र आसवारीका पिन्टु पटेलको २ लाख रुपैयाँलगायत रकम अन्सारीबाट लिन बाँकी रहेको दाबी गरेका छन्।

सङ्घका अनुसार रकम असुलीका लागि पटक–पटक सम्पर्क गर्दा पनि अन्सारी सम्पर्कमा नआएपछि व्यवसायी तथा किसानहरूले गाडी रोकेर कुखुरा झारेका हुन्।

यद्यपि, गाडी रोकेर कुखुरा नियन्त्रणमा लिनु कानुनी रूपमा उचित नभएको सङ्घले स्वीकार गरेको छ। घटनाबारे जानकीटोला प्रहरीलाई जानकारी गराई गाडी बुझाउन खोजिएको भए पनि प्रहरीले गाडी नबुझेपछि चालकले क्यामुदिनको फर्म अगाडि गाडी पार्क गरेर वीरगन्ज फर्किएको सङ्घको भनाइ छ।

त्यसपछि अन्सारीले पत्रकार सम्मेलन गरी आफूहरूमाथि लुटपाटको आरोप लगाएको सङ्घले जनाएको छ।

घटनाका सम्बन्धमा दुवै पक्षले प्रहरी कार्यालयमा उजुरी दिएका छन्। सङ्घका अनुसार शुक्रबार पोखरिया प्रहरीको रोहबरमा दुवै पक्षबीच छलफल गराई विवाद समाधानका लागि पहल भइरहेको छ।

घटनामा एक पक्षले कुखुरा र नगद लुटिएको आरोप लगाएको छ भने अर्को पक्षले बाँकी रकम असुलीका क्रममा कुखुरा झारिएको दाबी गरेको छ। घटनाको वास्तविकता तथा कानुनी जिम्मेवारीबारे सम्बन्धित प्रहरी अनुसन्धानपछि थप स्पष्ट हुने देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित