राष्ट्रिय दैनिक / दैलेख ,१६ असाेज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दैलेख–२ बाट लोकेश प्रसाद आचार्य केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्।
लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय आचार्य दैलेखका परिचित युवा नेताका रूपमा रहेका छन्। राजनीतिक गतिविधिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका उनले असहाय, अशक्त, विपन्न तथा पछाडि पारिएका समुदायका पक्षमा निरन्तर काम गर्दै आएको बताइएको छ।
आचार्यले राजनीतिलाई पद प्राप्त गर्ने माध्यमका रूपमा नभई जनताले दिएको विश्वास, जिम्मेवारी र सामाजिक सेवाको अवसरका रूपमा आफूले लिएको बताएका छन्। उनले दलगत स्वार्थभन्दा माथि उठेर नीति, जनसेवा र जनताका वास्तविक समस्यालाई केन्द्रमा राखेर राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका अनुसार राजनीतिक आस्था वा दल फरक भए पनि सामाजिक समस्यामा परेका नागरिकलाई सहयोग गर्दा पार्टीगत दृष्टिकोण राख्न नहुने धारणा छ। समाजमा रहेका असहाय, विपन्न, अशक्त तथा अवसरबाट वञ्चित वर्गका पक्षमा आफू निरन्तर उभिने उनले बताएका छन्।
युवा पुस्तालाई राजनीतिमा सक्रिय गराउँदै समाजका वास्तविक समस्यालाई राजनीतिको केन्द्रमा ल्याउनुपर्नेमा जोड दिँदै आचार्यले राजनीतिलाई व्यक्तिगत लाभ वा पदको प्रतिस्पर्धाभन्दा जनसेवा र सामाजिक परिवर्तनको माध्यम बनाउनुपर्ने धारणा राखेका छन्।
दैलेखको सामाजिक तथा राजनीतिक क्षेत्रमा युवाको सहभागिता बढाउनुपर्ने बताउँदै उनले आगामी दिनमा जनतासँग प्रत्यक्ष जोडिएका विषय, सामाजिक सेवा र नीतिगत सुधारलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएपछि आचार्यले यसलाई व्यक्तिगत उपलब्धिभन्दा पनि आफूलाई विश्वास गर्ने नेता–कार्यकर्ता तथा जनताले दिएको महत्त्वपूर्ण जिम्मेवारीका रूपमा लिएको बताएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

