राष्ट्रिय दैनिक / नवलपरासी, १६ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पश्चिम नवलपरासीमा पार्टीभित्रको आन्तरिक राजनीतिक गतिविधि तीव्र बन्न थालेको छ । महाधिवेशनलाई लक्षित गर्दै शेरबहादुर देउवा समूहले जिल्लादेखि संघीय निर्वाचन क्षेत्रसम्म संगठनात्मक जिम्मेवारी बाँडफाँट गरेपछि जिल्लाको कांग्रेस राजनीति थप सक्रिय बनेको हो ।
देउवा समूहले पश्चिम नवलपरासीको जिल्ला संयोजकमा सुनवल निवासी धर्मदत्त चापागाईंलाई जिम्मेवारी दिएको छ । कांग्रेस १५औँ महाधिवेशन तयारी समितिका केन्द्रीय संयोजक डा. शशांक कोइरालाले महाधिवेशनसम्बन्धी गतिविधि अघि बढाउन चापागाईंलाई जिल्ला संयोजकमा मनोनयन गर्नुभएको जनाइएको छ ।
चापागाईंको जिम्मेवारीसँगै देउवा समूहले जिल्लामा महाधिवेशन केन्द्रित गतिविधिलाई वडा तहसम्म विस्तार गर्ने तयारी गरेको छ । पार्टीका केन्द्रीय प्रतिनिधि विकास घिमिरेको अध्यक्षता तथा ट्रेड युनियन कांग्रेसका केन्द्रीय सल्लाहकार अयोध्या यादवको विशेष उपस्थितिमा बसेको बैठकले चापागाईंको नाम जिल्ला संयोजकका लागि सिफारिस गरेको थियो ।
ट्रेड युनियन आन्दोलनमा लामो समयदेखि सक्रिय चापागाईं नेपाल निर्माण सम्बद्ध श्रमिक संघको जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ हाल संघको दोस्रो कार्यकाल केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।
क्षेत्रगत जिम्मेवारी पनि तोकियो
देउवा समूहले जिल्लासँगै पश्चिम नवलपरासीका दुवै संघीय निर्वाचन क्षेत्रमा पनि संयोजक तोकेको छ । क्षेत्र नं. १ को संयोजकमा राजुप्रसाद अधिकारी र क्षेत्र नं. २ को संयोजकमा इन्जिनियर विक्रम रानालाई जिम्मेवारी दिइएको केन्द्रीय प्रतिनिधि विकास घिमिरेले जानकारी दिनुभयो ।
प्रतापपुर–६ निवासी अधिकारी कांग्रेसको १४औँ महाधिवेशनबाट पालिका उपसभापतिमा निर्वाचित हुनुभएको थियो । त्यस्तै सुनवल–७ निवासी राना विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ ।
जिल्ला र क्षेत्रको नेतृत्व तहमा जिम्मेवारी बाँडफाँट गर्दै देउवा समूहले अब वडा तहसम्म महाधिवेशन केन्द्रित गतिविधि अघि बढाउने संकेत गरेको छ ।
वडा अधिवेशनबाट सुरु हुँदैछ शक्ति परीक्षण
देउवा समूहले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिकाअनुसार पश्चिम नवलपरासीमा वडा अधिवेशनको उद्घाटन समारोह भोलि आयोजना गर्ने तयारी छ । आगामी १८ गते जिल्लाका सबै वडामा वडा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको जनाइएको छ ।
कांग्रेसभित्र महाधिवेशन प्रतिनिधि चयनदेखि नेतृत्वका लागि हुने प्रतिस्पर्धामा वडा तहको भूमिका महत्वपूर्ण हुने भएकाले वडा अधिवेशनलाई प्रारम्भिक संगठनात्मक शक्ति परीक्षणका रूपमा समेत हेरिएको छ ।
जिल्ला तथा क्षेत्रीय संयोजक तोकिएपछि देउवा समूहले आफ्नो पक्षको संगठनात्मक समन्वय र महाधिवेशन तयारीलाई औपचारिक रूपमा अघि बढाएको छ । अब वडा तहमा हुने गतिविधि, प्रतिनिधि छनोट र त्यसपछि बन्ने समीकरणले पश्चिम नवलपरासी कांग्रेसको आगामी महाधिवेशनको राजनीतिक चित्र थप स्पष्ट पार्नेछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

