राष्ट्रिय दैनिक /नवलपरासी ,१५ असाेज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधिसभा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनको मतदान सम्पन्न भएको छ। कुल १ हजार १६ मतदातामध्ये ९८६ मत खसेको छ।
मतदान सकिएसँगै अब उम्मेदवार तथा समर्थकहरूको ध्यान मतगणनातर्फ केन्द्रित भएको छ। निर्वाचन समितिले आवश्यक प्रक्रिया पूरा गरेपछि केही घण्टामै मतगणना सुरु गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभा क्षेत्र नं. २ को सभापति पदमा बैजनाथ कलवार (नाथु) र यामप्रसाद भुषाल (दीपक) प्रतिस्पर्धामा छन्। सचिवमा कुश्माखर चापागाईँ (कुसुम) र धनपत यादव तथा सहसचिव (खुला) मा उपेन्द्र गुप्ता र रमेश कर्मचार्य उम्मेदवार छन्।
त्यस्तै, प्रदेशसभा क्षेत्र नं. २ (क) को सभापतिमा जयराम बस्याल र पेउनारायण न्यौपाने (प्रेम), सचिवमा ओमप्रकाश बाहघरे र रामचन्द्र सापकोटा तथा सहसचिवमा नुमा खरेल र बालकृष्ण पाण्डेयबीच प्रतिस्पर्धा छ।

प्रदेशसभा क्षेत्र नं. २ (ख) को सभापतिमा गजानन्द पटेल र जितेन्द्रप्रसाद अग्रहरी (दिपु) प्रतिस्पर्धामा छन्। उपसभापतिमा मोहन गोसाई र विनोदलाल गुप्ता, सचिवमा विज्ञान सिंह र केदारनाथ यादव, सहसचिव (खुला) मा अवधेश कुमार यादव र शिवकुमार यादव तथा सहसचिव (महिला) मा राधिका कुमारी मौर्य र सोनिता देवी कहाँर प्रतिस्पर्धामा छन्।
मतगणना सुरु भएसँगै सभापति, सचिव, सहसचिवलगायतका पदमा कसको पक्षमा कति मत रह्यो भन्ने चासो बढेको छ। केही घण्टापछि आउने परिणामले क्षेत्र नं. २ को आगामी क्षेत्रीय नेतृत्वको तस्वीर स्पष्ट गर्नेछ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

