Rashtriya Dainik

नवलपरासी–२ कांग्रेसमा आज शक्ति परीक्षण, कँडेल–पाठक समूह आमनेसामने

राष्ट्रिय दैनिक / नवलपरासी, १५ असोज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ मा आज हुने क्षेत्रीय अधिवेशनले जिल्लाको कांग्रेस राजनीतिमा नयाँ शक्ति समीकरणको संकेत दिने भएको छ।

लामो समयदेखि देखिँदै आएको आन्तरिक प्रतिस्पर्धा क्षेत्रीय अधिवेशनमा खुलेर सतहमा आएपछि आजको मतदानलाई कार्यकर्ताले विशेष चासोका साथ हेरेका छन्।

क्षेत्र नं. २ मा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र केन्द्रीय सदस्य राधेश्याम पाठक निकट समूहबीच प्रतिस्पर्धा देखिएको छ। दुवै पक्षले आफ्नो प्यानलसहित उम्मेदवार मैदानमा उतारेपछि अधिवेशन केवल पदाधिकारी छनोटमा सीमित नरही संगठनभित्रको प्रभाव परीक्षणका रूपमा समेत अघि बढेको छ।

प्रतिनिधिसभा क्षेत्रीय सभापतिका लागि कँडेल पक्षबाट लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवार र पाठक पक्षबाट यामप्रसाद भुसाल ‘दिपक’ उम्मेदवार बनेका छन्। सभापति पदमै दुई धार आमनेसामने भएपछि क्षेत्रीय अधिवेशनको प्रतिस्पर्धा थप पेचिलो बनेको छ।

यसपटकको निर्वाचनले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति मात्र चयन गर्ने छैन, महाधिवेशन प्रतिनिधि छनोटमार्फत कांग्रेसको आगामी केन्द्रीय महाधिवेशनमा क्षेत्र नं. २ को प्रतिनिधित्वसमेत प्रभावित गर्नेछ। त्यसैले उम्मेदवार र समर्थकहरू अन्तिम समयसम्म मतदातासँग सम्पर्कमा जुटेका छन्।

नवलपरासी कांग्रेसको आन्तरिक प्रतिस्पर्धाको असर पछिल्लो समय पालिका अधिवेशनमै देखिएको थियो। सुनवल नगर अधिवेशनमा मतदान सुरु हुनुअघि विवाद चर्किएपछि निर्वाचन प्रक्रिया स्थगित भएको घटनाले जिल्लाको कांग्रेस राजनीतिमा थप चर्चा पाएको थियो।

त्यसको केही दिनमै क्षेत्र नं. २ को अधिवेशनमा दुई समूह आमनेसामने भएपछि आजको मतदानलाई कांग्रेस कार्यकर्ताले चासोका साथ हेरिरहेका छन्।

क्षेत्र नं. २ को अधिवेशन प्रक्रिया पनि सहज भने रहेन। क्रियाशील सदस्यताको नामावली नआउँदा वडा अधिवेशन नै अन्योलमा परेको थियो भने क्षेत्रीय मतदानको मिति पनि एक दिन सारिएको थियो।

वडा तहदेखि क्षेत्रीय तहसम्मको निर्वाचन प्रक्रियामा देखिएको प्रतिस्पर्धापछि आजको मतदानले क्षेत्र नं. २ कांग्रेसभित्र कुन समूहको संगठनात्मक प्रभाव कति छ भन्ने तथ्यांक भने प्रस्तुत गर्नेछ।

प्रदेशसभा क्षेत्र २(क), २(ख), प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिका लागि हुने मतदानमा मतदाताको निर्णयले आगामी कांग्रेस महाधिवेशनका लागि क्षेत्रको प्रतिनिधित्वसमेत निर्धारण गर्नेछ।

कांग्रेसको केन्द्रीय महाधिवेशन हुने रहेकाले क्षेत्रीय अधिवेशनबाट चयन हुने प्रतिनिधिहरूको भूमिका पनि महत्वपूर्ण हुनेछ।

आजको मतदानसँगै नवलपरासी–२ कांग्रेसको आन्तरिक शक्ति समीकरणको एउटा अध्याय टुंगिनेछ भने अर्को अध्याय सुरु हुनेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित