धर्मेन्द्र कुमार कुर्मी / कपिलवस्तु,१२ असाेज
कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहको ११औँ साधारणसभा सम्पन्न भएको छ। विजयनगर गाउँपालिकाको सभाहल खडैचामा सोमबार आयोजित साधारणसभामा वन संरक्षण, वृक्षारोपण, वन पैदावारको व्यवस्थापन तथा जलवायु परिवर्तनका कारण देखिएका चुनौतीबारे सरोकारवालाबीच छलफल गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री जानकी प्रसाद यादवले साझेदारी तथा सामुदायिक वनले बिरुवा वितरणलगायतका गतिविधिमार्फत वन संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए। वन संरक्षणका लागि सबै पक्षको सहयोग र सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले संघ र प्रदेश सरकारबीच कानुनी व्यवस्थामा देखिएको बाझोपनका कारण काम गर्न कठिनाइ भइरहेको बताए।

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले स्थानीय समुदायसँग समन्वय गरी वन संरक्षणका गतिविधिलाई अघि बढाइरहेको बताए। वन संरक्षण, वन पैदावारको व्यवस्थापन तथा वृक्षारोपणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा उनले जोड दिए।
जलवायु परिवर्तनका कारण उत्पन्न चुनौती न्यूनीकरणका लागि संरक्षण अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने अध्यक्ष थापाको भनाइ थियो। खाली जग्गामा वृक्षारोपण गर्नुका साथै घर–घर र व्यक्ति–व्यक्तिबाटै वृक्षारोपण अभियान सञ्चालन गर्न आवश्यक रहेको उनले बताए।
यसैगरी कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष गंगेशनाथ तिवारीले वन संरक्षणसँगै हरित क्रान्तिको अभियानलाई अघि बढाइरहेको बताए। उनले खडा रुखको लिलाम प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरे।
कपिलवस्तुका डिभिजनल वन अधिकृत गणेशबहादुर खड्काले साझेदारी वनलाई तीनै तहका सरकार र सरोकारवालाबीचको सहकार्यको उत्कृष्ट अभ्यासका रूपमा लिन सकिने बताए। साझेदारी वनले जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन कायम, जलाधार संरक्षण तथा वन पैदावार उत्पादनसँगै स्थानीय समुदायलाई लाभ पुर्याउने काम गर्दै आएको उनले उल्लेख गरे।
कार्यक्रममा विजयनगर गाउँपालिका–७ का वडा अध्यक्ष दिनेशकुमार चौधरी तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव शनिउल्ला धोबीले पनि सम्बोधन गरेका थिए।

साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष प्रवेज आलम खानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सीमा अर्यालले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। सदस्य अकबर हुसेनले स्वागत मन्तव्य राखेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

