बझाङ ,१२ असाेज— नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि छनोटका लागि बझाङमा निर्वाचन भइरहेका बेला मष्टा गाउँपालिका–१ का उत्तम खड्काको उम्मेदवारी भावनात्मक र पीडादायी परिस्थितिबीच अघि बढिरहेको छ।
जेन–जि पुस्ताको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिका लागि चुनावी मैदानमा रहेका खड्का अहिले क्रियामा छन्। शरीरमा सेतो वस्त्र, आँखामा आँसु र मनमा बुवाको सम्झना बोकेर उनी मत मागिरहेका छन्।
भारतको ब्याङ्लोरमा उपचाररत उनका बुवाले अस्पतालको शैय्याबाट छोरालाई फोन गर्दै भनेका थिए, “लाटा, म अब बाँच्दिनँ होला… अन्तिम पटक भेट्न आइजा।” तर महाधिवेशनको तयारी र चटारोका कारण उत्तम तत्काल बुवालाई भेट्न भारत जान सकेनन्।
त्यसको केही समयमै बुवाको भारतमै निधन भयो। बुवाको अन्तिम दाहसंस्कारमा समेत सहभागी हुन नपाएको पीडा बोकेर खड्का अहिले काजक्रियामा छन्।
यही समयमा नेपाली कांग्रेस बझाङमा महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन भइरहेको छ। व्यक्तिगत जीवनको सबैभन्दा कठिन क्षणका बीच पनि खड्का पार्टीको आन्तरिक निर्वाचनमा आफ्नो उम्मेदवारी लिएर मतदातामाझ पुगेका छन्।
उनको अवस्था आफैंमा एउटा मार्मिक दृश्य बनेको छ—क्रियाको सेतो वस्त्र, आँखामा बुवाको सम्झनाको आँसु र मनमा युवाको भविष्यप्रतिको सपना।
खड्काले आफ्नो व्यक्तिगत दुःखभन्दा माथि उठेर नयाँ पुस्ताको आवाज पार्टीभित्र बलियो बनाउन आफू उम्मेदवार बनेको बताउँदै मतदातासँग समर्थनको आग्रह गरिरहेका छन्।
उनको यो उम्मेदवारी केवल पदका लागि भएको प्रतिस्पर्धाभन्दा पनि पारिवारिक शोक, राजनीतिक जिम्मेवारी र पुस्तान्तरणको चाहनाबीचको संघर्षका रूपमा देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

