राष्ट्रिय दैनिक /नवलपरासी ,१० असाेज
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले लगातार भइरहेको वर्षा र बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य तथा पूर्वतयारीलाई तीव्र बनाएको छ।
पालिकास्तरीय विपद् व्यवस्थापन समितिको अध्यक्ष सुखाडी प्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकले बाढी तथा डुबानको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउनेदेखि सम्भावित प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण, उद्धार सामग्री व्यवस्थापन र राहत उपलब्ध गराउनेसम्मका निर्णय गरेको हो।

बैठकले वडा नं. ५, ६ र ७ लगायत नदी, खोला तथा तटीय क्षेत्रमा रहेका जोखिमयुक्त बस्तीमा निरन्तर अनुगमन गरी आवश्यक सूचना तत्काल सम्प्रेषण गर्ने निर्णय गरेको छ। न्यूनचापीय प्रणालीका कारण ११ गतेसम्म वर्षा हुन सक्ने सूचना प्राप्त भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक निर्देशन तत्काल कार्यान्वयन गर्ने निर्णयसमेत गरिएको छ।

सम्भावित विपद्का घटनामा तत्काल उद्धार तथा प्रतिकार्य गर्न स्थानीय टोल विकास संस्था, नेपाल रेडक्रस, सुरक्षा निकाय, पालिका प्रहरी, स्वास्थ्यकर्मी, प्राविधिक तथा स्वयंसेवकलाई समेटेर प्रतिकार्य संयन्त्र परिचालन गर्ने निर्णय भएको छ। साथै द्रुत प्रतिकार्य टोली (RRT) लाई तयारी अवस्थामा राख्ने तथा ह्यान्ड माइकसहित आवश्यक उद्धार सामग्रीको व्यवस्था गर्ने निर्णय गरिएको छ।

बाढीका कारण बस्तीमा बस्न जोखिम देखिएमा प्रभावित नागरिकलाई नजिकका सामुदायिक विद्यालयमा स्थानान्तरण गरी होल्डिङ सेन्टरका रूपमा प्रयोग गर्ने निर्णय गरिएको छ। त्यस्ता स्थानमा खानेपानी, विद्युत्, शौचालय, खाद्यान्न तथा प्राथमिक उपचारका सामग्रीको तत्काल व्यवस्था मिलाउने जनाइएको छ।
यसैगरी सरावल–६ स्थित धनेवा नदीको बाँध मर्मत तथा सम्भावित कटान नियन्त्रणका लागि आवश्यक पूर्वतयारी गर्ने निर्णय भएको छ। विपद्का कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै आवश्यक औषधिको भण्डारण तथा व्यवस्थापन गर्न पनि बैठकले निर्देशन दिएको छ।

बैठकले विपद्का कारण पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ। रसुवामा आएको बाढीमा बेपत्ता भएका सरावल गाउँपालिका–१ का सरजु प्रसाद चौधरी थारु र माधवराज चौधरीका परिवारलाई जनही २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ।
बैठकमा गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत नारायण पाण्डेय, वडा नं. १, २, ५ र ६ का वडा अध्यक्ष, सुरक्षा निकायका प्रमुख, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्वयंसेवकहरूको सहभागिता रहेको थियो।

बैठकका निर्णयबारे विपद् व्यवस्थापन सम्पर्क व्यक्ति अब्दुल रज्जाकले जानकारी गराउनुभएको हाे। पालिकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन, आवश्यक सूचना तथा निर्देशनको पालना गर्न र आपत्कालीन अवस्था देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

