राष्ट्रिय दैनिक /नवलपरासी ,१० असाेज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका अधिकांश प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदैछ। नवलपरासीमा पनि क्षेत्रीय अधिवेशनको तयारी पूरा भएको छ।
केन्द्रीय निर्वाचन समितिले मौसमको अवस्था हेरेर क्षेत्रीय अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ। भारी वर्षाका कारण केही जिल्लामा अधिवेशनको मिति सारिए पनि मौसम अनुकूल रहेका अधिकांश क्षेत्रमा पूर्वनिर्धारित तालिकाअनुसार आजै अधिवेशन गर्ने तयारी गरिएको छ।
क्षेत्रीय अधिवेशनबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन हुनेछन्। कांग्रेसले जिल्ला तथा प्रदेश अधिवेशन भने नगर्ने र आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ।
यसअघि वडा तथा पालिका तहका अधिवेशन सम्पन्न भएसँगै अब क्षेत्रीय नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनका लागि कांग्रेसभित्र प्रतिस्पर्धा बढेको छ। नवलपरासीमा पनि विभिन्न निर्वाचन क्षेत्रमा नेतृत्वका आकांक्षीहरू सक्रिय छन्।
केन्द्रीय निर्वाचन समितिले प्रतिकूल मौसम भएका स्थानमा पनि असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सम्पन्न गरिसक्न निर्देशन दिएको छ। वर्षाका कारण केही जिल्लामा अधिवेशन स्थगित गरिएको भए पनि मौसममा सुधार आएकाले अधिकांश स्थानमा निर्धारित समयभित्रै प्रक्रिया पूरा हुने निर्वाचन समितिले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

