Rashtriya Dainik

सुनवल कांग्रेस अधिवेशनमा विवाद : निर्वाचन अधिकृत हटाएर पुनः मतदान गराउन माग

राष्ट्रिय दैनिक /नवलपरासी,९ असाेज।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासी क्षेत्र नम्बर–२ मा पर्ने सुनवल नगर अधिवेशनमा उत्पन्न विवादप्रति क्षेत्रीय कार्यसमितिले गम्भीर आपत्ति जनाएको छ।

प्रतिनिधिसभा क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति माधवप्रसाद पाण्डेले विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृत दीपक अर्यालको कार्यशैलीप्रति प्रश्न उठाउँदै उहाँलाई जिम्मेवारीबाट मुक्त गरी नयाँ मतदान अधिकृत खटाउन केन्द्रीय निर्वाचन समितिसँग माग गरेका छन्।

क्षेत्रीय कार्यसमितिका अनुसार अधिवेशन बिहान १० बजे सुरु हुने गरी सूचना जारी गरिएको भए पनि निर्वाचन प्रतिनिधिहरू दिउँसो करिब १ बजे मात्रै उपस्थित भएका थिए। त्यसपछि अधिवेशनको औपचारिक प्रक्रिया तथा शुभकामना मन्तव्यलगायत कार्यक्रम सम्पन्न गरी निर्वाचन समितिलाई निर्वाचन प्रक्रिया अघि बढाउन जिम्मेवारी हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ।

समय ढल्किसकेको अवस्थामा निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न गर्न कठिन हुन सक्ने भन्दै मनोनयन दर्तादेखि साँझ ५ः४५ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने तालिका दुवै पक्षको रोहबरमा तय गरिएको क्षेत्रीय कार्यसमितिको दाबी छ।

तर त्यसपछि बाँकी निर्वाचन कार्यक्रमको समय खाली राखिएको अवस्थामा निर्वाचन अधिकृतले आफूखुसी समय थप गरी रातिको समयमा मतदान गराउने तयारी गरेपछि विवाद सुरु भएको विज्ञप्तिमा उल्लेख छ।

क्षेत्रीय कार्यसमितिले बाहिर मुसलधारे वर्षा भइरहेको र साँझ परिसकेको अवस्थामा धेरै मतदाता घर फर्किसकेको दाबी गर्दै यस्तो परिस्थितिमा रातिको समयमा मतदान गर्नु उपयुक्त नहुने जनाएको छ।

विज्ञप्तिअनुसार जिल्ला निर्वाचन अधिकृत रुपेश लामा तथा कांग्रेस महामन्त्री प्रदीप पौडेलसमेतले रातिको समयमा मतदान प्रक्रिया रोक्न सुझाव दिएको भए पनि निर्वाचन अधिकृतले मतदान गराउने अडान लिएका थिए।

त्यसपछि कार्यकर्ताको आग्रहमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल निर्वाचनस्थल पुगेका थिए। क्षेत्रीय कार्यसमितिका अनुसार कँडेलले मौसम, सुरक्षा तथा महिला, अपांगता भएका व्यक्ति, अशक्त, वृद्ध र बिरामी मतदाताको अवस्थालाई ध्यानमा राखेर मतदान रोक्न आग्रह गरेका थिए। तर मतदान अधिकृतले रातिमै निर्वाचन गराउने अडान कायम राखेको विज्ञप्तिमा उल्लेख छ।

यसक्रममा निर्वाचन अधिकृतविरुद्ध केही समय होहल्ला र विवादको अवस्था सिर्जना भएको तथा सुरक्षा निकायको सहयोगमा मतदान प्रक्रिया स्थगित गरिएको क्षेत्रीय कार्यसमितिले जनाएको छ।

क्षेत्रीय सभापति पाण्डेले निर्वाचन अधिकृतको कार्यशैलीका कारण उत्पन्न परिस्थितिलाई गम्भीर विषय भन्दै दीपक अर्याललाई निर्वाचन अधिकृतको जिम्मेवारीबाट हटाई अर्को मतदान अधिकृत खटाएर उपयुक्त समय र मौसममा पुनः निर्वाचन गराउन केन्द्रीय निर्वाचन समितिसँग माग गरेका छन्।

यसअघि पनि सुनवल नगर अधिवेशनमा विवाद भएपछि मतदान प्रक्रिया स्थगित भएको सार्वजनिक विवरणहरू आएका छन्। उपलब्ध रिपोर्टअनुसार नगर अधिवेशनमा दुई पक्षबीच सहमति नजुटेपछि मतदानको तयारीका क्रममा विवाद चर्किएको थियो।

नेपाली कांग्रेसले यसपटकको अधिवेशनमा मौसम प्रतिकूल भएका क्षेत्रमा सम्बन्धित पार्टी कार्यसमितिसँग समन्वय गरी निर्वाचन कार्यक्रम व्यवस्थापन गर्न निर्देशनसमेत दिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित