Rashtriya Dainik

सुस्तामा बाढीको वितण्डा : जनजीवन अस्तव्यस्त, २ सय भन्दा बढी बस्ती डुबानमा

अनिल बनिया ( विनोद ) नवलपरासी / ९ असाेज

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नारायणी नदीको पानी बस्तीमा पसेपछि २५० घर डुबानमा परेका छन्। थारुटोल, सैनीटोल र बड्का टोलका १६३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

शुक्रबार थारुटोलबाट पस्न थालेको बाढी राति सैनीटोल र बड्का टोलसम्म फैलिएको हो। बाढीबाट घरसँगै खेतीयोग्य जमिनसमेत डुबानमा परेको छ भने दर्जनौँ बिघामा लगाइएको उखु बाली प्रभावित भएको छ।

गण्डक ब्यारेज वाल्मीकिनगरमा शनिबार बिहान नारायणी नदीको बहाव २ लाख ७३ हजार ६ सय क्युसेक मापन गरिएको छ। देवघाटमा समेत ३ लाख ४८ हजार क्युसेक बहाव मापन भएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ।

बाढीपछि सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमाण्डमा २१ जनाको टोली उद्धारमा परिचालन गरिएको छ। टोलीले २५ जना स्थानीयवासीसहित एक गाई र १३ वटा बाख्राको उद्धार गरेको सशस्त्र प्रहरी बल २६ नं गणका गोविन्द बहादुर खातीले जानकारी दिनुभयो।

सुस्ताको संवेदनशील क्षेत्रमा करिब १३२ मिटर तटबन्ध अझै निर्माण हुन बाँकी छ। अधुरो तटबन्ध, नदीमा थुप्रिएको बालुवा र बदलिँदो नदीको धारका कारण हरेक वर्ष बाढी तथा कटानको जोखिम दोहोरिँदै आएको स्थानीयवासीको भनाइ छ।

जिल्ला प्रशासन र सुरक्षा निकायले नदीको बहाव तथा बस्तीको अवस्थालाई निरन्तर निगरानीमा राखेका छन्। जोखिम बढेमा थप परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित