Rashtriya Dainik

बर्दघाटमा शहीद परिवार सम्मानित, रोजगारीको सुनिश्चितता माग

राष्ट्रिय दैनिक /नवलपरासी ,३ असाेज

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विभिन्न आन्दोलनका क्रममा शहादत तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरेको छ।

नगरपालिकाको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा बर्दघाट नगर क्षेत्रका १२ जना शहीद तथा बेपत्ता परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो।

नगरपालिकाको अभिलेखअनुसार बर्दघाट क्षेत्रमा विभिन्न आन्दोलनका क्रममा शहीद तथा बेपत्ता भएका १६ जनाको तथ्याङ्क रहेको महिला तथा बालबालिका शाखा प्रमुख मालती लम्सालले जानकारी दिनुभयो।

कार्यक्रममा शहीद परिवारका तर्फबाट बोल्दै अर्जुन खनालले राज्य व्यवस्था परिवर्तनका लागि भएको संघर्षमा आफ्नो जीवन आहुति दिने शहीदहरूको योगदानलाई स्थानीय तहले दीर्घकालीन रूपमा स्मरण गर्नुपर्ने बताउनुभयो।

उहाँले बर्दघाट क्षेत्रमा शहीदहरूको योगदानलाई जीवन्त राख्न शहीदको शालिक निर्माण गर्नुपर्ने माग गर्नुभयो।

खनालले शहीद परिवारका सदस्यलाई अध्ययनका लागि राज्यले कोटा व्यवस्था गरे पनि अध्ययन पूरा गरेपछि रोजगारीका लागि त्यस्तै विशेष व्यवस्था नहुँदा समस्या भोग्नुपरेको गुनासो गर्नुभयो।

आफू पनि शहीद परिवारका लागि छुट्याइएको कोटाबाट अध्ययन गरी हाल चितवनमा अध्यापन गरिरहेको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले आफू निर्वाचित भएर आएपछि बसेको पहिलो कार्यपालिका बैठकबाटै विभिन्न आन्दोलनका शहीद तथा बेपत्ता परिवारलाई सम्मानस्वरूप मासिक दुई हजार रुपैयाँ उपलब्ध गराउँदै आएको बताउनुभयो।

नगरप्रमुख श्रेष्ठले बर्दघाट नगर क्षेत्रका शहीदहरूको तस्वीर तथा आवश्यक विवरण उपलब्ध गराएमा बर्दघाट–१० स्थित आम्बास क्षेत्रमा नगरपालिकाले प्रवद्र्धन गरेको शहीद पार्कमा शालिक निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“शहीदहरूको योगदानलाई पुस्तान्तरण गर्न र उहाँहरूको सम्झनालाई जीवन्त राख्न स्थानीय तहले आफ्नोतर्फबाट सक्दो काम गर्नेछ,” उहाँले भन्नुभयो।

नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले शहीद तथा बेपत्ता परिवारको सम्मान र सहयोगका लागि नगरपालिकाले सानो भए पनि सुरुवात गरेको बताउनुभयो।

उहाँले शहीद तथा बेपत्ता परिवारको अवस्था, उनीहरूले भोग्दै आएका समस्या र अपेक्षालाई सार्वजनिक बहसमा ल्याउन सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रमले शहीद तथा बेपत्ता परिवारको सम्मानसँगै उनीहरूका बाँकी आवश्यकता र राज्यबाट अपेक्षित सहयोगका विषयलाई समेत सार्वजनिक बहसमा ल्याएको छ।

नेपालको संविधान जारी भएको दिन असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइन्छ। संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि विभिन्न आन्दोलनमा जीवन आहुति दिने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संविधानको पूर्ण कार्यान्वयनमार्फत नागरिकका अधिकार र उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित