Rashtriya Dainik

तस्करीदेखि लागुऔषधसम्म नियन्त्रण गर्न नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

राजन कुमार बानियाँ /पर्सा, २८ भदौ ।

सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा अवैध कारोबार नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले संयुक्त गस्ती तथा अन्तरक्रिया गरेका छन्।

आइतबार इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्यालको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का प्रहरी निरीक्षकसहितको संयुक्त टोलीले सीमा क्षेत्रमा ‘जोइन्ट पेट्रोलिङ’ गरेको हो।

संयुक्त गस्तीका क्रममा सीमा क्षेत्रमा हुन सक्ने अवैध वस्तु तथा सामानको तस्करी, लागुऔषध ओसारपसार, मानव बेचबिखन तथा ओसारपसार, जाली नोटको कारोबार, चोरी तथा डकैतीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा निगरानी बढाइएको सुरक्षा निकायले जनाएको छ।

गस्तीका क्रममा सीमा क्षेत्रमा देखिन सक्ने सम्भावित आपराधिक गतिविधि, शंकास्पद आवतजावत तथा अवैध ओसारपसारमाथि निगरानी बढाउने विषयमा समेत छलफल भएको थियो। खुला सीमाका कारण हुन सक्ने अपराध तथा अवैध गतिविधि नियन्त्रणका लागि नेपाल र भारततर्फका सुरक्षा निकायबीच नियमित समन्वय र सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्यालले सीमा क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्नुका साथै अपराध नियन्त्रण र नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउने बताउनुभयो।

संयुक्त गस्ती तथा अन्तरक्रियाका क्रममा दुवै देशका सुरक्षा निकायबीच सीमा क्षेत्रमा देखिएका सुरक्षा चुनौती, अपराधको सम्भावित जोखिम तथा आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे समेत छलफल भएको जनाइएको छ।

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सुरक्षा निकायबीच सूचना आदानप्रदान, समन्वय तथा संयुक्त निगरानीलाई निरन्तरता दिने सहमति भएको बताइएको छ।

सुरक्षा निकायको यस्तो संयुक्त गस्तीले सीमा क्षेत्रमा हुने तस्करी तथा अन्य अवैध गतिविधि नियन्त्रणमा सहयोग पुग्नुका साथै सर्वसाधारणमा सुरक्षाको अनुभूति बढाउने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित