बिनोद निगम / नवलपरासी २७ भदौ
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–५ गेमीमा समुदाय–प्रहरी साझेदारीअन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
इलाका प्रहरी कार्यालय महेशपुरको आयोजनामा भएको कार्यक्रममा स्थानीय शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, सीमा क्षेत्रमा हुने तस्करी, सवारी दुर्घटना तथा सामाजिक विवादलगायतका विषयमा छलफल गरिएको थियो। स्थानीय नागरिकले आफ्ना गुनासा, समस्या तथा सुझाव प्रहरीसमक्ष राखेका थिए।
इलाका प्रहरी कार्यालय महेशपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक शुभराज बमको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष दयाशंकर त्रिपाठी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा प्रहरी सहायक निरीक्षक लालमणि जोशी, कार्यक्रम सञ्चालक प्रहरी सहायक निरीक्षक राजेन्द्र गौतम, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो।
वडाध्यक्ष त्रिपाठीले सीमा क्षेत्रमा लागूऔषधको कारोबार तथा सेवन बढ्दै गएको भन्दै यसको असर बालबालिका र युवाको भविष्यमा परेको बताए। लागूऔषध तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि प्रहरीलाई स्थानीय तह र समुदायबाट आवश्यक सहयोग उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए।
स्थानीय अशोक गुप्ताले सीमा क्षेत्रमा तस्करी बढ्दै गएको र तस्करीमा प्रयोग हुने सवारीसाधन तीव्र गतिमा गुड्दा दुर्घटनाको जोखिम बढेको बताए। उनले तस्करी नियन्त्रणसँगै सवारीको गति नियन्त्रणमा समेत ध्यान दिन प्रहरीसँग आग्रह गरे।
त्यस्तै, स्थानीयवासीले सामान्य झै–झगडा तथा सामाजिक विवादलाई सम्भव भएसम्म गाउँमै मेलमिलापका माध्यमबाट समाधान गर्नुपर्ने धारणा राखे। विवादका घटनामा महिला र पुरुष दुवै पक्षको अवस्था बुझेर निष्पक्ष अनुसन्धान गर्नुपर्नेमा समेत उनीहरूले जोड दिए।
कार्यक्रममा प्रहरी र नागरिकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्ने तथा अपराध नियन्त्रणमा समुदायको सहभागिता बढाउने विषयमा जोड दिइएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

