राष्ट्रिय दैनिक /नवलपरासी, २५ भदौ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका युवा नेता एवं नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेयले अभद्र व्यवहारसम्बन्धी मुद्दामा सफाइ पाएका छन्।
जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको इजलासले पाण्डेयविरुद्ध लगाइएको अभद्र व्यवहारको आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो।
फैसलाअनुसार २०८२ फागुन १८ गते साँझ बर्दघाट–४ स्थित पाण्डेयको पसलमा निर्वाचनविरोधी प्रचार सामग्री रहेको सूचनाका आधारमा प्रहरी खानतलासीका लागि पुगेको थियो । प्रहरीले खानतलासी पुर्जी दिँदा पाण्डेयले पक्राउ पुर्जी तथा आफूलाई पक्राउ गर्नुको कारण मागेका थिए।
प्रहरीले त्यसलाई अभद्र व्यवहारको संज्ञा दिँदै मुलुकी अपराध संहिता, २०७४ को दफा ११८(१) अन्तर्गत मुद्दा चलाएको थियो। पाण्डेयले भने आफूले प्रहरीलाई अभद्र व्यवहार नगरेको र पक्राउको कानुनी आधारबारे मात्र प्रश्न गरेको बयान दिएका थिए। साक्षीहरूले समेत उनले प्रहरीलाई अभद्र व्यवहार नगरेको बताएका थिए।
दर्जनौ ग्राहक एवं उनका नाबालिग छोराछोरी बीच विना कारण पाण्डेयलाई पक्राउ गरेको भन्दै फागुन १९ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो। तत्काल फागुन २० गते विपक्षीका नाममा कारण देखाउ आदेश जारी भए पनि प्रहरीले उनलाई फागुन २२ गतेसम्म चार दिन हिरासतमा राखेर हाजिरी जमानीमा मात्र छाडेको थियो ।
यसअघि २०८२ फागुन १ गते परासीस्थित बुद्धचोकमा जनयुद्ध दिवसको ब्यानर टाँगेको विषयमा समेत पाण्डेय पक्राउ परेका थिए । पटकपटक पक्राउ गरेर विचार तथा अभिव्यक्ति स्वतन्त्रता बिरुद्वको काम गरेको भन्दै उतिबेला जिल्लामा प्रहरीको आलोचनासमेत भएको थियो।
मिसिल, प्रतिवादीको बयान तथा साक्षीको बकपत्र अध्ययनपछि प्रजिअ नेपालको इजलासले प्रहरीले नियन्त्रणमा लिँदा पक्राउ पुर्जी माग्नु र पक्राउको कारण सोध्नु नागरिकको कानुनी अधिकार भएको ठहर गरेको छ । यस्तो अधिकार प्रयोग गरेको कार्यलाई मात्र आधार बनाएर अभद्र व्यवहारको कसुर कायम गर्न नमिल्ने फैसलाको निष्कर्ष छ ।
निर्वाचन बहिष्कारको राजनीतिक अभियानसँग जोडिएको यो प्रकरणले राजनीतिक असहमति, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार प्रयोग गर्दा राज्यका निकायले अवलम्बन गर्नुपर्ने कानुनी प्रक्रियामाथि समेत बहस सिर्जना गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नवलपरासीले जनाएको छ । फैसलाले राज्यको कारबाहीबारे प्रश्न गर्न र आफ्नो पक्राउको कानुनी आधार माग्न पाउने नागरिक अधिकारको महत्वलाई समेत उजागर गरेको जानकारहरु बताउँछन् ।
रवि पाण्डेय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वैकल्पिक केन्द्रीय सदस्य तथा संयुक्त संघर्ष समितिका जिल्ला संयोजकसमेत हुन्। तत्कालीन नेकपा माओवादीको जनयुद्धकालीन राजनीतिमा सक्रिय रहेका पाण्डेय पछिल्लो दुई दशकदेखि पत्रकारितामा सक्रिय जनपक्षीय पत्रकारका रूपमा परिचित छन्। उनी प्रगतिशील लेखक, साहित्यकार तथा पूर्वशिक्षकसमेत हुन्।
फैसलासँगै थुनछेकका क्रममा राखिएको धरौटी रकम नियमानुसार फिर्ता गर्न, जिल्ला सरकारी वकील कार्यालयलाई जानकारी गराउन तथा मुद्दाको लगत कट्टा गरी मिसिल तामेलीमा राख्न आदेश दिइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

