राष्ट्रिय दैनिक / नवलपरासी
भारतको उत्तर प्रदेशस्थित कन्नौजमा करिब १६ करोड भारतीय रुपैयाँ बराबरको १०.३७ किलो सुन बरामद भएपछि नेपाल–भारत सीमापार सुन तस्करीको सम्भावित ठूलो सञ्जालबारे अनुसन्धान तीव्र पारिएको छ।
गत २१ अगस्टमा आगरा–लखनऊ एक्सप्रेसवेमा प्रहरीको गाडीसँग ब्रेजा कार ठोक्किएपछि प्रहरीले कारको तलासी लिँदा १० वटा सुनका इँटा बरामद गरेको थियो। घटनामा ठूठीबारीका सन्दीप जायसवाल र नेपाल पाल्पाका सरोज पन्थ पक्राउ परेका छन्।
प्रारम्भिक सोधपुछमा पक्राउ परेकाहरूले पछिल्लो तीन महिनामा नेपालबाट करिब १०० किलो सुन भारत ल्याएर विभिन्न राज्यमा पुर्याएको दाबी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूले बरामद सुन महाराजगञ्ज हुँदै दिल्ली लैजाँदै गरेको बताइएको छ। उक्त दाबीको आधिकारिक पुष्टि भने हुन बाँकी छ।
घटनाको अनुसन्धानका क्रममा सोमबार कस्टम टोलीले महाराजगञ्जको ठूठीबारीमा सन्दीपको घर तथा रियाज पुत्र सैफुल्लाहको घर र पसलमा छापा मारेर करिब तीन घण्टा कागजात तथा अन्य प्रमाणको जाँच गरेको छ। रियाज भने छापाका क्रममा भेटिएनन्।
कस्टम अधिकारीहरूले सुनको स्रोत, नेपालबाट भारत प्रवेश गराउने सञ्जाल, तस्करीमा संलग्न अन्य व्यक्ति तथा दिल्लीसम्मको कारोबारबारे अनुसन्धान गरिरहेका छन्।
सुन प्रकरणमा ठूठीबारीको नाम जोडिएपछि नेपाल–भारत सीमा क्षेत्रमा समेत सुरक्षा सतर्कता बढाइएको छ। एसएसबीले सीमामा आवतजावत गर्ने व्यक्ति तथा सवारीसाधनमाथि निगरानी र जाँच कडा पारेको जनाएको छ।
तीन महिनामा १०० किलो सुन तस्करी भएको भनिएको दाबी अनुसन्धानबाट पुष्टि भएमा कन्नौजमा बरामद १० किलो सुन लामो समयदेखि सञ्चालनमा रहेको ठूलो सीमापार तस्करी सञ्जालको एउटा खेप मात्र हुनसक्ने देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

