तुलसीराम पौडेल / रुपन्देही ,८ भाद्र
रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर-४, छपियामा रहेको लिग्जा कलेजको १२औं साधारण सभा तथा चौथो अधिवेशन आइतबार सम्पन्न भएको छ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष गोपाल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री सन्तोष कुमार पाण्डे रहनुभएको थियो।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व शिक्षा मन्त्री वसिउद्दीन खा, सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरे र नेपाली काङ्ग्रेसका युवा नेता आशुतोष मिश्रा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमको स्वागत मन्तव्य कलेज सञ्चालक समितिका उपाध्यक्ष बुद्धि बन्जाडेले गर्नुभएको थियो भने उद्देश्यमाथि शिक्षा सङ्काय प्रमुख सहायक प्राध्यापक कमला भण्डारीले प्रकाश पार्नुभएको थियो। कार्यक्रम सञ्चालन नेपाल पब्लिक कलेज प्राध्यापक सङ्घ लिग्जा कलेज इकाई समितिका सभापति केशवराज पौड्यालले गर्नुभएको थियो।
कलेज प्रमुख लोक शर्मा बस्यालले कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष हरिबहादुर थापाले आर्थिक वर्ष २०८२/०८३ को आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूलाई वितरण गरिने ११ वटा अक्षयकोषमध्ये बुद्धिनाथ कलावती इन्द्र तिवारी अक्षयकोषका संस्थापक तथा कलेजका वाणिज्य सङ्कायका इन्द्रप्रसाद तिवारीले अक्षयकोषको स्थापनाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न सहज हुने बताउनुभयो।
प्रमुख अतिथि मन्त्री सन्तोष कुमार पाण्डेले आफू भैरहवा क्षेत्रको भए पनि छपिया-मर्चवार क्षेत्रको विकासमा सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। पूर्व मन्त्री वसिउद्दीन खाले कलेजको समस्या समाधानमा आफू सक्रिय रहने बताउनुभयो।

सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले कलेजका लागि गाउँपालिकाबाट हुने सहयोगमा कुनै कमी नआउने बताउनुभयो। वडा नम्बर-४ का अध्यक्ष श्रीराम यादवले आफू वडा अध्यक्षमा निर्वाचित भएदेखि हरेक वर्ष सहयोग गर्दै आएको स्मरण गराउदै यस आर्थिक वर्षमा वडाको तर्फबाट लिग्जा कलेजलाई ५ लाख रुपैयाँ छुट्याएको जानकारी दिनुभयो।
कलेज संचालक समितिका अध्यक्ष गोपाल पाण्डेले कलेज संचालनको लागि सम्पूर्ण क्षेत्रबाट सक्रिय सहयोग प्राप्त भएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
कलेजका प्रमुख सल्लाहकार कृष्ण प्रसाद भुसालले समयको परिवर्तनसँगै कलेज सञ्चालनमा नयाँ सोच र परिवर्तन ल्याउनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा कलेजलाई आर्थिक सहयोग गर्ने गाउँपालिका र वडाहरूलाई सम्मान गरिएको थियो। साथै आफ्नो विषयमा शतप्रतिशत नतिजा ल्याउने कलेजका प्राध्यापकहरूलाई पनि सम्मान गरिएको थियो।

निर्वाचन संयोजक केशवराज पौड्यालको अध्यक्षता र कमला भण्डारीको सञ्चालनमा बसेको बन्दसत्रले कलेज सञ्चालक समितिमा १५ जना मध्ये ५ जना पदेन र अध्यक्ष १ सहित १० जना निर्वाचित हुने निर्णय गरेको छ। समय अभावका कारण बाँकी छलफल भदौ १४ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

