काठमाडौं ,२७ साउन। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै निजामती सेवाका उच्च तहका कर्मचारीले राजीनामा दिने क्रम बढेको छ।
सरकारले अघि सारेको नीति तथा दृष्टिकोणप्रति असन्तुष्टि जनाउँदै सचिवदेखि तल्लो तहका कर्मचारीसम्मले राजीनामा दिन थालेका हुन्।
मंगलबार सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा दिएका छन्। उनीहरूको राजीनामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका छन्।
साउन १३ गते सञ्चार मन्त्रालयमा सरुवा भएका सचिव पोखरेलले दुई सातामै राजीनामा दिएका हुन्। उनको सेवा अवधि अझै करिब एक वर्ष बाँकी थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारीबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएको विषयमा असन्तुष्ट रहेका पोखरेलले अन्ततः राजीनामा दिएका हुन्।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अधिकारी आगामी भदौ ४ गते अनिवार्य अवकाशमा जाँदै थिए।
यसअघि राजीनामा दिनेमा सहसचिव तहसम्मका कर्मचारी मात्र थिए। पछिल्लो समय भने सचिव तहकै कर्मचारीले राजीनामा दिएपछि निजामती सेवामा सरकारको नीतिप्रति असन्तुष्टि थप सतहमा आएको देखिएको छ।
सरकारले ५५ वर्ष उमेर पूरा भएका तथा ३० वर्षे सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने योजनासहित संघीय निजामती सेवा विधेयकको मस्यौदा अघि बढाएपछि कर्मचारीहरूमा असन्तुष्टि बढेको बताइएको छ।
राष्ट्रिय किताबखानाको अभिलेखअनुसार पछिल्लो समय करिब एक दर्जन सहसचिव, तीन दर्जन उपसचिव तथा ठूलो संख्यामा अधिकृत र त्यसभन्दा तल्लो तहका कर्मचारीले राजीनामा दिएका छन्।
उच्च तहका कर्मचारीले समेत छोटो अवधिमै राजीनामा दिन थालेपछि सरकारको प्रशासनिक नीतिलाई लिएर विभिन्न प्रश्न उठ्न थालेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

