बिनोद निगम / नवलपरासी , साउन २०
पश्चिम नवलपरासीमा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले १,५०० एम्पुल लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो, भैरहवा शाखा र इलाका प्रहरी कार्यालय महेशपुरको संयुक्त अपरेशनमा सरावल गाउँपालिका–६ बड्सारेस्थित पुलबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार साउन १९ गते मङ्गलबार साँझ करिब ५ बजे लागूऔषधको अवैध कारोबार तथा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा संयुक्त प्रहरी टोलीले विशेष निगरानी तथा चेकजाँच अभियान सञ्चालन गरेको थियो।
यस क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ६ प ६८४१ नम्बरको मोटरसाइकललाई शंकास्पद अवस्थामा रोकी खानतलासी गर्दा चालक सरावल गाउँपालिका–४ निवासी १८ वर्षीय भाष्कर गुप्ता तथा पछाडि सवार सरावल गाउँपालिका–६ बड्सारे निवासी १८ वर्षीय कृष्ण मोहन सहानीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
खानतलासीका क्रममा मोटरसाइकलको बीच भागमा राखिएको प्लास्टिकको बोराभित्र रहेको सेतो हाते झोलाबाट डाइजेपाम इन्जेक्सन आईपी ५०० एम्पुल, बुप्रेनोर्फिन इन्जेक्सन आईपी ५०० एम्पुल तथा प्रोमेथाजिन फेनेर्गन् हाइड्रोक्लोराइड इन्जेक्सन आईपी ५०० एम्पुल गरी कुल १,५०० एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागूऔषध तथा मोटरसाइकललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।
जिल्ला अदालत नवलपरासीबाट साउन २० गते बुधबार लागूऔषध सम्बन्धी कसुरमा म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिए।
प्रहरीका अनुसार पछिल्लो समय सीमावर्ती क्षेत्र तथा मुख्य राजमार्गमा लागूऔषधको अवैध कारोबार नियन्त्रण गर्न निगरानी र चेकजाँच थप कडा पारिएको छ। लागूऔषध कारोबारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रहरीको भनाइ छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

