Rashtriya Dainik

महाभारतकाे ‘अश्वत्थामा’ तथा ‘गजनी’का चर्चित खलनायक प्रदीप रावतको निधन

काठमाडौं, साउन १९ – भारतीय फिल्म तथा टेलिभिजनका वरिष्ठ अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका रावतको मुम्बईस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मध्यप्रदेशको जबलपुरमा सन् १९५२ मा जन्मिएका रावतले आफ्नो अभिनय यात्रा टेलिभिजनबाट सुरु गरेका थिए। बी.आर. चोपडाको चर्चित टेलिभिजन धारावाहिक महाभारतमा अश्वत्थामाको भूमिकाबाट उनले पहिलो ठूलो लोकप्रियता हासिल गरेका थिए।
पछि उनले हिन्दी सिनेमामा मेरी जंग बाट प्रवेश गर्दै चार दशकभन्दा लामो अभिनय यात्रामा १०० भन्दा बढी हिन्दी तथा दक्षिण भारतीय फिल्ममा अभिनय गरे।

रावतले सरफरोश, लगान र विशेषगरी गजनीमा निभाएका खलनायक पात्रमार्फत दर्शकमाझ छुट्टै पहिचान बनाए। ‘गजनी’मा उनको दमदार अभिनयले उनलाई भारतीय सिनेमाका चर्चित खलनायकमध्ये एक बनाएको थियो। उनले तमिल र हिन्दी दुवै संस्करणमा एउटै भूमिका निर्वाह गरेका थिए।

हिन्दीसँगै तेलुगु, तमिल, कन्नड र मलयालम फिल्म उद्योगमा पनि सक्रिय रहेका रावतले तेलुगु फिल्म साइ का लागि उत्कृष्ट खलनायकको फिल्मफेयर पुरस्कार समेत प्राप्त गरेका थिए।
प्रदीप रावतको निधनसँगै भारतीय फिल्म उद्योगले एक अनुभवी तथा प्रभावशाली कलाकार गुमाएको छ। उनका अभिनय र अविस्मरणीय पात्रहरू सधैं दर्शकमाझ जीवित रहनेछन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित