राष्ट्रिय दैनिक / नवलपरासी ,१९ साउन
पश्चिम नवलपरासी जिल्लाभरि पछिल्ला केही दिनयता नेपाल विद्युत् प्राधिकरणले बिना कुनै पूर्वसूचना पटक–पटक घण्टौँसम्म विद्युत् आपूर्ति अवरुद्ध गर्दै आएपछि सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ।
विशेषगरी सरावल क्षेत्रमा लामो समयसम्म हुने विद्युत् कटौतीले स्थानीय बासिन्दा, विद्यार्थी, किसान तथा कुखुरा व्यवसायी सबैभन्दा बढी प्रभावित भएका छन्।
प्रचण्ड गर्मीका बीच पटक–पटक हुने विद्युत् कटौतीले स्थानीय बासिन्दा, विद्यार्थी र व्यवसायी सबैलाई सास्ती दिएको छ।
सरावल ४ पुर्नहाका कुखुरा व्यवसायी जहिर खाँका अनुसार अनियमित रूपमा घण्टौँसम्म विद्युत् काटिँदा पोल्ट्री व्यवसायमा ठूलो आर्थिक क्षति भइरहेको छ। “विद्युत् नहुँदा कुखुरा गर्मीले मर्ने जोखिम बढ्छ, दाना र पानी व्यवस्थापनमा समस्या हुन्छ, तर प्राधिकरणलाई व्यवसायीको पीडा देखिँदैन,” उनले गुनासो गरे।
सरावल गाउँका स्थानीय अनिल बि.क.ले पनि विद्युत् अभावका कारण विद्यार्थीलाई पढ्न र सर्वसाधारणलाई राति सुत्नसमेत समस्या भइरहेको बताए। “गर्मीले छटपटिनुपर्छ, पंखा चल्दैन, मोबाइल चार्ज हुँदैन, तर कहिले आउने भन्ने जानकारीसमेत हुँदैन,” उनले भने।
स्थानीयवासीको आरोप छ कि नेपाल विद्युत् प्राधिकरणले मर्मतका नाममा पटक–पटक लाइन काट्ने गरे पनि नागरिकलाई समयमै सूचना दिने न्यूनतम जिम्मेवारीसमेत पूरा गरेको छैन। सेवा दिने निकाय नै सूचनाविहीन हुँदा नागरिकले अन्धकार मात्र होइन, बेवास्ताको पीडासमेत भोग्नुपरेको छ।
यस विषयमा नेपाल विद्युत् प्राधिकरण, परासी वितरण केन्द्रका सूचना अधिकारी रामाशंकर शाहले मर्मत तथा प्राविधिक कामका कारण विद्युत् लाइन काट्ने गरिएको स्वीकार गरे। उनले यसपटक पूर्वसूचना नदिई लाइन काटिएको गल्ती स्वीकार गर्दै आगामी दिनमा लाइन अवरुद्ध गर्नुपरेमा अनिवार्य रूपमा सूचना जारी गरिने प्रतिबद्धता जनाए।
विद्युत् सेवा आधारभूत आवश्यकता बनेको वर्तमान समयमा बिना सूचना घण्टौँसम्म लाइन काट्नु केवल प्राविधिक कमजोरी होइन, सेवाग्राहीप्रतिको गैरजिम्मेवारी पनि हो। अब प्रश्न उठेको छ—नागरिकले अन्धकार कहिलेसम्म सहिरहने, र प्राधिकरणको “काम भइरहेको थियो” भन्ने एउटै जवाफले कहिलेसम्म सबै कमजोरी ढाक्ने?
वर्तमान सरकारले सुशासन, सेवा प्रवाहमा सुधार र नागरिकमैत्री प्रशासनको प्रतिबद्धता दोहोराइरहे पनि पश्चिम नवलपरासीमा भने बिना पूर्वसूचना घण्टौँसम्म विद्युत् लाइन काटिने क्रम नरोकिएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

