राजन कुमार बानिया
पर्सा १९ साउन
पर्साको पकाहा मैनपुर गाउँपालिकाले गाउँपालिका–स्थित श्री रामचरित्र भगत माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट जीपीए प्राप्त गरी उत्तीर्ण भएका चार जना विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ।
मंगलबार आयोजित एक सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेश मेहता तथा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै प्रोत्साहनस्वरूप ल्यापटप हस्तान्तरण गरेका हुन्।
उक्त कार्यक्रममा अभिनय मेहता, सुधाञ्जली मेहता, अनिकेत शर्मा र सुजित कुमार शर्मालाई सम्मानपत्रसहित ल्यापटप प्रदान गरिएको थियो। गाउँपालिकाले मेधावी विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रममा अध्यक्ष मेहताले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्नु गाउँपालिकाको दायित्व रहेको बताउँदै आगामी दिनमा पनि शिक्षाको गुणस्तर अभिवृद्धि तथा मेधावी विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताले विद्यालयसँगै गाउँपालिकाको प्रतिष्ठा समेत उँचो बनाएको उल्लेख गर्दै आगामी अध्ययन यात्राका लागि शुभकामना व्यक्त गरे।
सम्मानित विद्यार्थीहरूले गाउँपालिकाबाट प्राप्त सम्मान र प्रोत्साहनले थप उत्साह र प्रेरणा मिलेको प्रतिक्रिया व्यक्त गरेका थिए।
विद्यालयका शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूको सफलताको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

