Rashtriya Dainik

शिक्षा, स्वास्थ्य, सडक र पर्यटनमा उल्लेखनीय प्रगति गर्दै सरावल गाउँपालिका

राष्ट्रिय दैनिक / नवलपरासी,११ साउन

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा उल्लेखनीय काम गर्दै गाउँको स्वरूप परिवर्तन गर्ने अभियानलाई तीव्रता दिएको छ।


नागरिकलाई सहज र प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले गाउँपालिकाले आधुनिक प्रशासनिक भवन निर्माण गरेको छ भने वडा नम्बर ७ को वडा कार्यालय भवन सञ्चालनमा ल्याएको छ। स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै वडा नम्बर ३, ४ र ७ मा स्वास्थ्यचौकी सञ्चालन गरिएको छ।

शिक्षा क्षेत्रमा वडा नम्बर ५ स्थित जनता आधारभूत विद्यालय, धनगढहवामा जापान सरकारको सहयोगमा ६ कोठे आरसीसी विद्यालय भवन, शौचालय र खानेपानी स्टेशन निर्माण भइरहेको छ।

जनता माध्यमिक विद्यालय मनरीको खेलमैदान व्यवस्थापन, शिक्षक तथा अभिभावकलाई डिजिटल प्रविधिमैत्री तालिम र SEE परीक्षा दिएका विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरिएको छ।

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा गाउँपालिकाले बर्दघाटे मन्दिर, शिव–पार्वती मन्दिर, गोबरहिया मन्दिर तथा विभिन्न सामुदायिक भवन निर्माण गरेको छ। गोबरहिया मन्दिर परिसरमा बाल उद्यान निर्माण गरिएको छ भने पर्यटन प्रवर्द्धनका लागि रजहवा वन वाटिका, मनरी थारु पार्क र ललितपुर मधेश पार्क स्थापना गरिएको छ।

पूर्वाधार विकासतर्फ गाउँपालिकाले सोनाकोनी अन्तरपालिका सडक, भटवलिया–बरगदवा–भन्सार सडक, गोबरहिया–सरावल पहुँचमार्ग, भुतहा–महेशपुर सडक, सरावल–जनकपुर पहुँचमार्ग तथा भुजहवा हुँदै भारतीय सीमासम्म कालोपत्रे सडक निर्माण गरेको पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले राष्ट्रिय दैनिकलाई बताउनुभएको छ।

वर्षायाममा हुने डुबान र कटान नियन्त्रण गर्न वडा नम्बर ६ र ७ हुँदै बग्ने धनेवा नदीमा तटबन्ध निर्माण गरिएको छ भने दुई वटा साइफन निर्माण गरी बाढी न्यूनीकरणका प्रयासलाई प्रभावकारी बनाइएको छ।

कृषि तथा आधारभूत सेवातर्फ पटनी खानेपानी आयोजना, विभिन्न टोलमा कृषि सडक निर्माण, विद्युतीकरण र सडक बत्ती जडान गरिएको छ। साथै जीविकोपार्जन तालिम, लागूऔषधविरुद्ध सचेतना कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, अपाङ्गता शिविर, निःशुल्क आँखा शिविर, निःशुल्क आँखा शल्यक्रिया, निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था तथा क्रियाखर्चबापत पाँच हजार रुपैयाँ सहयोगजस्ता सामाजिक सुरक्षा कार्यक्रम पनि सञ्चालन हुँदै आएका छन्।

गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चाैधरीका अनुसार विकास निर्माणका यी कार्यक्रमले नागरिकको जीवनस्तर सुधार, सेवा पहुँच विस्तार तथा दिगो विकासको आधार तयार गर्न महत्वपूर्ण योगदान पुर्‍याएका छन्। आगामी दिनमा पनि जनअपेक्षाअनुसार विकासका कार्यक्रमलाई निरन्तरता दिँदै समृद्ध र आत्मनिर्भर सरावल निर्माण गर्ने लक्ष्यका साथ गाउँपालिका अघि बढिरहेको बताउनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित