तुलसीराम पौडेल /रुपन्देही ,श्रावण ११
वातावरण संरक्षण र स्वच्छ खानेपानीको दिगो व्यवस्थापनलाई एकसाथ जोड्दै रुपन्देहीको सियारी -७ स्थित पश्चिम अमवा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सोमबार वृक्षारोपण तथा विरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाको आफ्नै कार्यालय परिसरमा आयोजित विरुवा वितरण कार्यक्रममा सयौंको संख्यामा उपभोक्ताहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपभोक्ताहरुलाई घर-घरमा रोप्न मिल्ने विभिन्न उपयोगी विरुवा निःशुल्क वितरण गरिएको थियो। संस्थाले अमला, टिक, जामुन, बास, बेलौती, मसला, तेजपत्ता लगायतका प्रजातिका फलफूल, जडिबुटी र बहुउपयोगी विरुवाहरु वितरण गरिएको हो।

विरुवा वितरणसँगै संस्थाका पदाधिकारी, कर्मचारी र उपभोक्ताहरुको संयुक्त सहभागितामा कार्यालय परिसर र आसपासको क्षेत्रमा सामूहिक वृक्षारोपण गरिएको थियो। महिला र पुरुष उपभोक्ताहरुले उत्साहका साथ खाल्डो खनेर विरुवा रोपेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अर्यालले वातावरण र पानीको गहिरो सम्बन्ध रहेको बताउनुभयो।
“स्वच्छ पानी र विरुवाको सम्बन्ध धेरै नजिकको हुन्छ। जंगल र हरियाली नभएसम्म मुहान सुक्छ, पानी फोहोर हुन्छ। त्यसैले हामीले पानीको स्रोत जोगाउन, वायु प्रदूषण कम गर्न र आउँदो पुस्ताका लागि हरियाली विरासत दिन यो अभियान सुरु गरेका हौं”, उहाँले भन्नुभयो।
उहाँले थप्नुभयो, “हामीले वितरण गरेका विरुवालाई उपभोक्ताहरुले आफ्नो घरको आँगन, बारी र सार्वजनिक स्थानमा रोपेर हुर्काउनु पर्छ। खानेपानी संस्थाले अब हरेक वर्ष यस्तो अभियानलाई निरन्तरता दिनेछ।”

कार्यक्रममा सहभागी उपभोक्ताहरुले संस्थाको यो पहलप्रति खुसी व्यक्त गरेका थिए। विरुवा पाएपछि एकजना उपभोक्ताले भन्नुभयो, “पहिले पानीको लागि मात्र थियो , अब संस्थाले वातावरणको लागि पनि काम गर्यो। यो धेरै राम्रो सुरुवात हो।”
संस्थाले यसलाई वार्षिक अभियानको रुपमा लैजाने र हरेक वर्ष वर्षातको समयमा वृक्षारोपण तथा सचेतना कार्यक्रम गर्ने योजना बनाएको छ। संस्थाले विद्यालय र सार्वजनिक स्थानमा पनि विरुवा रोप्ने प्रतिबद्धता जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

