मिना के.सी / नवलपरासी ,१० साउन
सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा तथा विस्तारित मञ्च कार्यक्रम सम्पन्न गर्दै वित्तीय दिगोपन, सुशासन र गुणस्तरीय सेवा विस्तारलाई आगामी प्राथमिकतामा राखेको जनाएको छ।
संस्थाका अध्यक्ष कृष्णबन्धु अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन भएका नीति तथा कार्यक्रम, वित्तीय लक्ष्य, वार्षिक प्रगति तथा आर्थिक वर्ष २०८३/०८४ का प्रस्तावित आय–व्यय विवरण प्रस्तुत गरिएको थियो।

अध्यक्ष अर्यालले सहकारीलाई व्यवसायिक, वित्तीय रूपमा दिगो, सुरक्षित, भरपर्दो र सुशासित संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहकारी सिद्धान्त, प्रचलित ऐन–कानुन तथा नियामकीय मापदण्डअनुसार संस्थालाई नमुना सहकारी बनाउने लक्ष्य रहेको बताउनुभयो। वित्तीय सक्षमता अभिवृद्धि, गुणस्तर सुनिश्चितता तथा छुट्टै पहिचानसहित गुणस्तरीय ब्रान्ड निर्माण आगामी कार्यदिशा हुने उहाँको भनाइ थियो।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार कृष्ण पौडेलले उत्पादनमूलक क्षेत्रमा ऋणको सदुपयोग गर्दै शेयर सदस्य आत्मनिर्भर बन्न सके संस्थाको वित्तीय अवस्था अझ सुदृढ हुने धारणा राख्नुभयो।

पूर्व उपाध्यक्ष रमेश कर्माचार्यले ऋण र बचतको ब्याजदरबीच सन्तुलन कायम गर्नुपर्ने सुझाव दिँदै कृषि, सवारी तथा घर कर्जाको ब्याजदर समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। मोबाइल बैंकिङमार्फत हुने कारोबारमा साइबर जोखिम न्यूनीकरणका लागि सदस्यहरूलाई डिजिटल तथा प्राविधिक साक्षरता प्रदान गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

पूर्व लेखा सुपरिवेक्षण समिति संयोजक कृष्णप्रसाद शर्माले सहकारीको सफलता सदस्यहरूको विश्वासमा निर्भर रहने उल्लेख गर्दै पर्याप्त जोखिम मूल्याङ्कन र क्षमता विश्लेषणपछि मात्रै ऋण लगानी गर्नुपर्ने सुझाव दिनुभयो।
सुनवल नगरपालिका शिक्षा शाखाका अधिकृत पशुपति भट्टराईले संस्थाले चालु वर्षमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले शेयर सदस्यहरूको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो।
संस्थापक सञ्चालक सदस्य हरि भण्डारीले अत्यधिक तरलता राख्नुभन्दा उत्पादनमूलक क्षेत्रमा ऋण प्रवाह बढाउन ब्याजदरलाई समयानुकूल बनाउनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा उपाध्यक्ष कमला थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन सचिव मुरली गौतमले गर्नुभएको थियो। समीक्षा कार्यक्रममा आगामी वर्षका योजना, लक्ष्य र रणनीतिबारे शेयर सदस्य तथा सरोकारवालाबीच विस्तृत छलफल भएको संस्थाले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

